२९ असार २०८२, आइतबार | Mon Jul 14 2025

लागू पदार्थ दुर्ब्यसन विरुद्धको तीन महिने अभियान सम्पन्न



बाबुराम रायमाझी, जितपुर ।

लागू औषध दुर्व्यसन तथा अबैध ओसारपसार नियन्त्रणका लागि जिल्लामा सञ्चालन गरिएको तीन महिने अभियान भव्य समारोहका बीच सम्पन्न गरिएको छ। २०८१ चैत १४ गतेबाट सुरु भएको अभियान कपिलवस्तु जिल्ला प्रशासन कार्यालयको पहलमा सुरु गरिएको थियो, जसको समापन कार्यक्रम ईलाका प्रहरी कार्यालय पिपराको आयोजनामा वाणगंगा नगरपालिका–४, जितपुरमा गरिएको हो।

समापन समारोहमा वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले युवावर्गमा लागुऔषधको बढ्दो प्रयोग समाजका लागि गम्भीर चुनौती बनेको बताउँदै विद्यालय, टोल विकास संस्था लगायत स्थानीय तहहरूसँग सहकार्य गरेर ‘लागू औषधमुक्त वाणगंगा’ अभियान अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी फ्रीडम फाउन्डेसन कपिलवस्तुका अध्यक्ष हेमन्त थापाले आफैँ पनि विगतमा लागुऔषध दुर्व्यसनमा फसेको अनुभव सुनाउँदै पुनःस्थापना पछिको सामाजिक संलग्नता र सचेतनाका कार्यक्रमहरूमा आफ्नो संस्थाको सक्रियता रहेको बताए।

ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जीसीले अभियान अवधिमा प्रहरीको सक्रियताबाट उल्लेखनीय सफलता हासिल भएको जानकारी दिए। उनका अनुसार चालू आर्थिक वर्ष ०८१र८२ मा इलाका प्रहरी कार्यालय पिपराले लागू औषध सम्बन्धी कसुरमा ३९ जना व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ।
पक्राउ परेकाहरूबाट १३३।२१ मिलिग्राम ब्राउन सुगर, १८१,७२० मिलिग्राम गाँजा, २८ थान स्पास्मो ट्याब्लेट, तथा ६ थान नाइट्राभेट ट्याब्लेट बरामद गरिएको उनले जानकारी दिए।
यीमध्ये केही पक्राउ परेका व्यक्ति भारतबाट लागुऔषध ओसारपसार गर्दै वाणगंगा नगरपालिकामा प्रवेश गरेका थिए।

यस अभियान अन्तर्गत ३५ वटा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको र ती कार्यक्रमहरूबाट १५०० जना विद्यार्थी तथा स्थानीय नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको प्रहरी निरीक्षक जीसीले बताए।
उनले थपे, “यस अभियानमा स्थानीय तह, उद्योग वाणिज्य संघ, सामाजिक संस्था, शैक्षिक संस्था, सञ्चारकर्मी र प्रहरी प्रशासनको सामूहिक प्रयासले सार्थक परिणाम दिएको छ।”

कार्यक्रमको सहजीकरण प्रहरी नायब निरीक्षक बेगम खनालले गरेका थिए ।
समापन कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १२ असार २०८२ बिहिबार ००:००  ८ : ०२ बजे