काठमाडौं ।
एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ।
मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजे खेल शुरु हुनेछ।
अहिलेसम्म खेलेका तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अङ्कसहित दोश्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ। यस्तै समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन्।
आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेट, दोश्रो खेलमा जापानलाई नौ विकेट र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो। १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन्।
समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन्। यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।
सेमिफाइनलका खेलहरु पर्सि बिहीवारदेखि शुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिवार हुनेछ।
प्रतिक्रिया