२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

यूएईमा सैनामैना सेवा समाजद्वारा तीज धमाका तयारी तिब्र



वाणगंगा ।
विदेशी भूमिमा नेपाली संस्कृति र सामाजिक सेवाको सन्देश फैलाउने उद्देश्यसहित सैनामैना सेवा समाज, यूएई ले “तीज धमाका २०२५” को तयारीलाई तिब्रता दिएकाे छ। यही आगामी अगस्त ३ आइतबारका दिन दुबईको क्लव एभरेष्ट याक एण्ड यति, बरदुबईमा आयोजना हुने भव्य कार्यक्रमलाई सफल बनाउन समाजका सम्पूर्ण पदाधिकारी, सल्लाहकार तथा संरक्षकहरू अहोरात्र खटिएका छन्।

समाजका अध्यक्ष विष्णु प्रसाद पन्थीका अनुसार, यस कार्यक्रममार्फत “गरिब तथा जेहेन्दार विद्यार्थीहरू” को सहयोगार्थ अक्षयकोष निर्माण गर्ने लक्ष्य राखिएको छ। नेपाली कला, संस्कृतिको प्रवर्द्धन र प्रवासी नेपालीबीच आपसी सद्भाव बढाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको तयारी र सहकार्यका सन्दर्भमा समाजका वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले जानकारी दिँदै, विभिन्न प्रतिष्ठित स्पोन्सरहरू, सह–प्रायोजकहरू र विधागत साझेदारहरूको सहयोगमा कार्यक्रमलाई भव्य बनाउन लागिएको छ, भन्नुभयो। मुख्य स्पोन्सर, सहायक स्पोन्सर, तथा मिडिया पार्टनरको रूपमा मायादेवी अनलाइन डटकम, साझा टिभी लगायतका मिडिया संस्थाहरू जोडिएका छन्।

कार्यक्रमको प्रमुख आकर्षणमा राष्ट्रिय चर्चित कलाकार खुमन अधिकारी र मञ्जु भट्टराई, साथै यूएईमा स्थापित स्थानीय कलाकारहरू को सशक्त प्रस्तुति रहनेछ। लोकनृत्य, तीज गीतहरू, तथा नेपाली परिकार विशेष रूपमा प्रस्तुत गरिने आयोजक संस्था सैनामैना सेवा समाजले जनाएको छ। कार्यक्रमको उद्घोषकको रूपमा सुरेन्द्र परियार रहनेछन्।

विदेशमा पहिचान, समृद्ध सैनामैना हाम्रो अभियान भन्ने मूल नारासहित, सैनामैना सेवा समाज यूएईले विगत केही वर्षदेखि प्रवासी नेपालीहरूका लागि शैक्षिक, सामाजिक र रचनात्मक कल्याणकारी गतिविधिहरू गर्दै आएको छ। विभिन्न सहयोगमूलक कार्यहरूमा समाजको अग्रसरता प्रशंसनीय रहँदै आएको छ।

सैनामैनालीहरूको साझा मञ्चका रूपमा स्थापित समाजले, यो वर्षको तीजलाई संवेदना, सहयोग र संस्कृतिको उत्सवका रूपमा मनाउने तयारी गरेको छ। कार्यक्रमले प्रवासी नेपालीबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको बलियो सन्देश दिने आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष भट्टराईकाे विश्वास छ।

केहि समय अघि समाजले सैनामैनाका ३ वटा विद्यालयमा छात्रबृतिका लागि रकम समेत हस्तान्तरण गरेकाे थियाे ।

प्रकाशित मिति : २० असार २०८२ शुक्रबार ००:००  ११ : २४ बजे