कपिलवस्तु ।
ईलाका प्रशासन कार्यालय बाणगंगाले आज बुधवार देखि गजेहडा बाट सेवा प्रवाह गर्न सुरु गरेको छ । आज एक कर्याक्रम गरि बाणगंगा नगरपालिका वडा नं- ४ स्थित वडा कार्यालय भवनको दोस्रो तल्लाबाट सेवा प्रदान गर्न थालेको हो ।
कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले वडा नम्बर ४ सिङ्गो नगरवासीका लागि नै पायक पर्ने ठाउँ रहेको भन्दै यहाँ सरेको बताउनुभयो । विगतमा भाडामा रहेको कार्यालय बाट सेवा प्रदान गरिरहँदा खर्च समेत धेरै हुने गरेको भन्दै अब उक्त खर्च कटौती हुने बताउनुभयो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले ईलाका प्रशासन कार्यालयको स्थानान्तरणको मूल उद्देश्य नगरवासीलाई नजिकैबाट, छिटोछरितो र सजिलो तरिकाले सेवा पुर्याउनु रहेको बताउनुभयो । कार्यालय दोस्रो तल्लामा रहेको हुँदा जेष्ठ नागरिक तथा अपांगमैत्री सेवा प्रवाहका लागि आवश्यक व्यवस्था गर्न कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएको थियो ।
त्यस्तै बााणगंगा नगरपालिका वडा ४ का वडा अध्यक्ष छवि रेस्मी मगरले अब वडाबासीहरूले सिफारिस सँगै अन्य प्रशासनिक सेवा पनि आफ्नै वडाबाटै सहज रूपमा प्राप्त गर्न सक्ने बताउनुभयो । वडाबाट प्रत्यक्ष सेवा प्रवाह हुनुले जनताको समय, पैसा र श्रमको बचत हुने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा दुई जना सेवाग्राहीलाई नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचयपत्र प्रदान गर्दै औपचारिक रूपमा नयाँ स्थानबाट सेवाको सुरुवात गरिएको थियो । स्थानीयले पनि प्रशासनिक सेवा आफ्नै वडामा पाउँदा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन ।







प्रतिक्रिया