दिपा महत, तौलिहवा ।
कपिलवस्तुमा एक वर्षमा सवारी दुर्घटनामा परि ८५ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१। ८२ मा ६ सय ८९ सवारी दुर्घटनामा परि ८५ जनाले ज्यान गुमाएका हुन् ।
कपिलवस्तुका प्रहरी उपरिक्षक निरन्जनदत्त भट्टले उक्त दुर्घटनामा परि ११ सय ४४ जना घाइते भएको बताउनुभयो । गत आर्थिक वर्ष २०८०, ०८१ मा ७ सय १९ दुर्घटना भएकोमा ८३ जनाको मृत्यु भएको थियो ।
यस्तै आव २०७९,८० मा ७ सय ७३ सवारी दुर्घटना भएकोमा ५१ जनाले ज्यान गुमाएका थिए । पछिल्लो दुई वर्षको तथ्यांकलाई हेर्दा जिल्लामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढेको उपरिक्षक भट्टले बताउनुभयो । प्रहरीले दुर्घटना न्यूनिकरणका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गरेपनि बर्षेनी सवारी दुर्घटना बढिरहेकोमा सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् ।
दुर्घटना न्यूनिकरणका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गरेपनि वर्षेनी सवारी दुर्घटनामा धेरैले अकालमै ज्यान गुमाउने गरेको उपरिक्षक भट्टले बताउनुभयो । कपिलवस्तु लुम्बिनी प्रदेशमै सवारी दुर्घटना हुने जिल्ला मध्ये अग्रपंक्तीमा रहेको बताउनुभयो ।
यसैबीच
कपिलवस्तुमा ट्राफिक नियम उल्लघंन गर्ने १८ हजार ८७२ सवारी साधनलाई कारबाही गरिएको छ । गत आर्थिक वर्ष २०८१,०८२ मा ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।
सवारी कारबाहीबाट १ करोड ४१ लाख ७१ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक पंजक चुदालीले बताए । सबैभन्दा बढी ५ हजार ५९२ ट्रक र टिप्पर कारबाहीमा परेका छन् । जसबाट ६९ लाख ९ हजार ५ सय जरिवाना उठेको छ ।
४ हजार १३१ मोटरसाइकललाई कारबाही गरी ३५ लाख ९६ हजार जरिवाना संकलन भएको छ । २ हजार ७९० जिप र कार कारबाहीबाट २४ लाख ५ सय तथा ५६० बस कारबाहीबाट ६ लाख ५ हजार ५ रुपैयाँ जरिवाना उठेको छ । यस्तै ३६६ ट्याक्टर कारबाहीबाट ३ लाख ६६ हजार तथा अन्य ४३३ कारबाहीबाट ३ लाख ८५ हजार ५ सय जरिवाना संकलन भएको छ ।







प्रतिक्रिया