२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ अन्तिमका लागि तय



काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तय भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले आउँदो भदौ ३१ गतेदेखि असोज १ गतेसम्म भारत भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२०८१ साल असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन । दुई दिने भ्रमणमा ठूला एजेन्डाहरू नभई दुईपक्षीय हित र सम्बन्धका कुरा हुने बताइएको छ ।

सामान्यतया नेपालमा प्रधानमन्त्री नियुक्त भएको केही समयमै भारतबाट भ्रमणको निम्तो आउने गरेको भए पनि यस पटक ओलीले एक वर्षपछि मात्रै निम्तो पाउनुभएको हो । प्रधानमन्त्री ओलीको यस कार्यकालमा भारतीय प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्क र बिमस्टेक शिखर सममेलनमा सहभागी हुने क्रममा थाइल्यान्डको बैंककमा गरी दुई पटक भेटवार्ता भने भइसकेको छ ।

भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदीले पनि असोजमा नेपालको भ्रमण गर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२ आइतबार ००:००  ३ : १० बजे