१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

दक्षिण कोरियामा जन्मदरमा कीर्तिमानी वृद्धि



एजेन्सी ।
दक्षिण कोरियाले सन् २०२५ को पहिलो पाँच महिनामा जन्मदरमा कीर्तिमानी वृद्धि हासिल गरेको तथ्याङ्क निकायका अधिकारीले बताएका छन् ।

जनवरीदेखि मे महिनासम्मको अवधिमा एक लाख ६ हजार ४८ जना शिशु जन्मिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६ दशमलव ९ प्रतिशतले धेरै रहेको कोरियाली तथ्याङ्क कार्यालयका अधिकारी काङ ह्युन–योङलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यो सङ्ख्या सन् १९८१ मा तथ्याङ्क सङ्कलन शुरू भएयताकै सबैभन्दा उच्च हो । दक्षिण कोरियामा एक दशकभन्दा बढी समयपछि जन्म सङ्ख्यामा पहिलो पटक वार्षिक वृद्धि भएको छ ।

विवाहमा भएको वृद्धिले जन्म सङ्ख्या पनि बढेको खबरमा उल्लेख छ । सन् २०२४ मा दक्षिण कोरियामा विवाहको सङ्ख्यामा १४ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । गएको वर्ष दुई लाख २० हजारभन्दा धेरै दम्पतीले विवाह गरेका थिए ।

विश्लेषकहरूका अनुसार जन्मदरमा ह्रास आउनुमा बच्चा हुर्काउँदा लाग्ने खर्चको मूल्य बढी हुनु रहेको छ । यो प्रवृत्तिलाई उल्टाउन दक्षिण कोरियाली सरकारले नगद अनुदान, अस्थायी रूपमा बच्चाहको रेखदेख (बेबिसिटिङ) सेवा र बाँझोपनको उपचारमा सहयोग प्रदान गर्दै आएको छ ।

मोनाकोपछि विश्वकै दोस्रो सबैभन्दा धेरै बुढ्यौली जनसङ्ख्या भएको दक्षिण कोरियाको छिमेकी देश जापान पनि यही समस्यासँग जुधिरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२ बुधबार ००:००  ८ : ५३ बजे