२ मंसिर २०८२, मंगलबार | Wed Nov 19 2025

लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त, शपथ भोलि



बुटवल ।

लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे मन्त्री नियुक्त भएका छन् ।

उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।

उनको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्याालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी आजै इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले जानकारी दिए ।

पाण्डेको दल लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा गएको थियो ।

तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए ।
११ सदस्यीय मन्त्रिमण्डल रहेकोमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्यले नै सम्हालेका थिए ।

वर्तमान मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एकजना मन्त्री थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८२ आइतबार ००:००  ६ : ४२ बजे