काठमाण्डाै ।
सुक्खाग्रस्त मधेश क्षेत्र सङ्कट व्यवस्थापनबारे नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) काे धारणा तय गर्ने उद्देश्यले परिषद्मा कार्यरत र सेवानिवृत्त विज्ञहरूसँग आज छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले वर्तमान प्राकृतिक सङ्कटको समाधानमा नार्कको भूमिका र नार्कले तय गर्ने धारणा महत्त्वपूर्ण हुने भएकोले छलफलबाट आएका धारणालाई परिषद् अन्तर्गतका कार्यालय र कृषि प्रसारका निकायहरूले आ–आफ्नो कार्यक्षेत्रमा प्रचारप्रसार गर्नुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका प्रमुख मथुरा यादवले सुक्खाग्रस्त मधेशको धान रोपाइँको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा वातावरणविद् रामेश्वर रिमालले अहिलेको मौसम त्यसको वातावरणीय प्रभावबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा विज्ञहरूले सिञ्चित, असिञ्चित जग्गाका लागि साउनभित्र पानी परेको वा नपरेको अवस्थामा अवलम्बन गर्न सकिने बीउबिजन, प्रविधि, रोप्ने–छर्ने विधिबारे विस्तृत छलफल गरेका थिए । ती प्रविधिहरूमध्ये साउनकाे अन्तिमसम्म पानी परेको अवस्थामा के गर्ने, अहिले भएको बेर्नालाई कसरी जोगाउने र पानी परेको खण्डमा कहिलेसम्म कस्ता जात र बाली रोप्न सकिने जस्ता विविध विकल्पमा छलफल भएको थियो ।
परिषद्ले सुक्खाग्रस्त क्षेत्रका लागि उपयुक्त प्रविधिको प्याकेज तयार गरी तुरुन्तै सिफारिश गर्ने जनाएको छ । कार्यक्रममा पशुपक्षी तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनाल, बाली तथा बागवानी निर्देशक बिनेशमान साखः, निवृत्त वरिष्ठ वैज्ञानिक एवम् बाली विज्ञ आनन्दकुमार गौतम, निवृत्त धानबाली विज्ञ डा. शम्भुप्रसाद खतिवडा, निवृत्त वरिष्ठ वैज्ञानिक एवम् बाली विज्ञ ध्रुवबहादुर थापा, बाली विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. हिमाल तिमिल्सिना, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्याय, राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख सुरज वैद्य, बागवानी विज्ञ डा. रञ्जना रावल, वैज्ञानिक डा. उज्ज्वलकुमार सिंह कुशवाह, वैज्ञानिक राजेन्द्र भट्टराई, कार्यकारी निर्देशकको सचिवालयका वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्याल, प्राविधिक अधिकृत रबिन गिरी लगायतको सहभागिता थियो ।







प्रतिक्रिया