१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

भेरी नदीको बीच भागमा फसेका चार जनाको उद्धार



काठमाण्डौ ।

डोल्पाको ठूलोभेरी नगरपालिका–३ धुपीचौरमा भेरी नदीको बीच भागमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।

उद्धार गरिकाहरूमा त्रिपुरासुन्दरी नगरपालिका–६ पालुङका ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३५ वर्षीय लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहरा रहेका सशस्त्र प्रहरीले जनाएको छ । बिहान दाउरा लिन गएका उनीहरू नदीमा एक्कासी पानीको बहाव बढेपछि फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपकराज भट्टको नेतृत्वमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको उद्धार गरेको हो ।

उद्धारपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा पठाइएको छ । उनीहरूको अवस्था सामान्य छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२ मंगलबार ००:००  २ : ४९ बजे