१७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026

निर्वाचनको सम्मुखमा नागरिकलाई केपी ओलीको प्रश्न, यो देश बचाउने कि नबचाउने ?



काठमाडौँ

एमालेका अध्यक्ष ‘यो देश बचाउने कि नबचाउने’ भनी प्रश्न गरेका छन्। आइतबार सामाजिक सञ्जालमा निर्वाचनलक्षित्रत अपिल गर्दै उनले निर्माणको बाटो रोज्ने कि ध्वंसको बाटो रोज्ने वेला आएको बताएका छन्।

‘यो सोध्न मिल्ने प्रश्न होइन त,र सोध्नैपर्ने भएको छ’, उनले भनेका छन्, ‘निर्माणको बाटो रोज्ने कि ध्वंसको बाटो रोज्ने वेला आएको छ।’

कतिपय सन्दर्भमा आफूसँग नागरिकका गुनासा भए पनि आफूले राष्ट्रियता, अखण्डताको सवालमा कहिल्यै सम्झौता नगरेको र कहिल्यै नगर्ने बताएका छन्। ‘अब स्पष्ट कित्ताकाट गर्नुपर्ने भएको छ। तपाईँ निर्माणको बाटोमा कि ध्वंसकाे बाटोमा ?’, उनले भनेका छन्, ‘यतिवेला तपाइँले कित्ता प्रष्ट गर्नुभएन-बोल्नुभएन भने कालान्तरमा तपाइँले आफूले नै आफूलाई कहिल्यै माफ गर्नु हुने छैन।’

उनले देश बचाउने भनेको सिंहदरबार जोगाउनु, संसद् जोगाउनु र देशका अन्य महत्त्वपूर्ण सार्वजनिक सम्पत्ति जोगाउनु रहेको भन्दै ती सम्पत्ति देशका प्रत्येक नागरिकका करबाट निर्माण भएको स्मरण गराए। 

ओलीले अब आफूले बाँचेको दिन भन्दा बाँच्ने दिन कम रहेको भन्दै धेरै बाँच्नेहरूका लागि निरन्तर लड्ने तर्क गरेका छन्। उनले संविधान बचे मात्र नागरिकका सबै अधिकार बच्ने बताए। उनले प्रत्येक नागरिकमा देश पहिले भन्ने भावना विकास हुन आवश्यक रहेको बताए।

उनले वेलै नभई हठात् प्रतिनिधिसभा विघटन गरी चाँडै निर्वाचन गराउन लागेकोमा पनि असन्तुष्टि पोखे। उनले जननिर्वाचित सरकारलाई जालझेल गरी बहिर्गमन गराएको र देशभर विध्वंस मच्चाएकोप्रति पुनः विरोध जनाए।

प्रकाशित मिति : १७ फाल्गुन २०८२ आइतबार ००:००  १ : ११ बजे