१७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026

मतदानका दिन सवारी साधन : कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ?



काठमाडौँ — निर्वाचन आयोगले मतदानको दिनलाई व्यवस्थित र मर्यादित बनाउन सवारी साधनको आवागमन र नियमन सम्बन्धी विशेष कार्यविधि कार्यान्वयनमा ल्याएको छ । 

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतदानका दिन अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ । विशिष्ट परिस्थिति र सेवाका लागि सवारी पासको व्यवस्था गरिएको छ । शुक्रबारदेखि नै आयोगले यस्ता पासहरूको वितरण प्रक्रिया सुरु गरिसकेको छ । उनका अनुसार आयोगले सवारी साधनलाई दुई मुख्य श्रेणीमा वर्गीकरण गरेको छ ।

पहिलो श्रेणीमा त्यस्ता सवारी साधनहरू छन्, जसले अनिवार्य रूपमा सवारी पास लिनुपर्ने हुन्छ । यसअन्तर्गत सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवार र उनीहरूका प्रतिनिधिहरू पर्दछन् । कार्यविधिको दफा ५ मा उल्लेख भए बमोजिम प्रत्यक्षतर्फका उम्मेदवार र निजका प्रतिनिधिले आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गर्नुपर्नेछ । 

यसैगरी, निर्वाचनको पर्यवेक्षणका लागि अनुमतिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू, कूटनीतिक नियोगका सवारी साधनहरू र सञ्चारकर्मीहरूले पनि अनिवार्य रूपमा पास लिनुपर्ने व्यवस्था गरिएको छ । संवैधानिक निकायका पदाधिकारीहरू, राष्ट्रिय सूचना आयोगका प्रतिनिधिहरू र विशिष्ट व्यक्तिहरूका लागि पनि आयोगले जारी गरेको पासकै आधारमा मात्र आवतजावतको अनुमति दिइने सहायक प्रवक्ता कुल बहादुर जिसीले जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२ आइतबार ००:००  ८ : १४ बजे