१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

कपिलवस्तु क्षेत्र न. १ मा २ सय बढी जेनजी युवा एमालेमा प्रवेश



वाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा न.२ र ८ बाट दुई सय भन्दा बढी युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । पछिल्लो समय जेनजी पुस्ताका युवाहरुको आवश्यकता र चाहना एमालले पुरा गर्ने बताउदै एमालेप्रति युवाहरुको आकर्षण बढ्दै गएको पुष्टि भएको छ । वाणगंगाको वडा न. २ र ८ मा भएका भिन्दाभिन्दै चुनावी कार्यक्रममा नवप्रवेशी जेनजी युवाहरु प्रवेश गरेका थिए ।

प्रदेश सांसद विष्णु पन्थीले नयाँ पुराना सवैको सहभागीताले पार्टीको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न युवाहरुको प्रवेशले पार्टी थप सुदृढ बन्दै गएको बताउनुभयो। उहाँले राष्ट्रवाद र विकासको एजेण्डालाई अघि बढाउन युवापुस्ताको साथ महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।

नवप्रवेशी युवाहरुलाई नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलराम अधिकारी, युवा नेता विष्णु प्रसाद पन्थी, गिरधारीलाल न्यौपाने लगायतले खादा तथा टिका लगाएर स्वागत गर्नुभएको थियो।

प्रवेश गर्ने युवाहरुले राष्ट्रियता र विकासको पक्षमा एमाले दृढता पूर्वक अघि बढिरहेको उल्लेख गर्दै सूर्यध्वजावाहक उम्मेदवार विश्राम प्रसाद चौधरीलाई विजयी गराउन सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

यसैगरी, एमाले नेता विष्णु गिरीले युवाहरुको उत्साहजनक सहभागिताले आफूहरु अत्यन्तै उत्साहित भएको बताउदै राष्टिय सोच र हितका लागि नेकपा एमालेले निर्वाचन जित्नुपर्नेमा जोड दिनुभयो । निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माले समेत युवाहरुको प्रवेशसँगै समग्र पार्टी नेतृत्वमा उत्साह थपिएको प्रतिक्रिया दिनुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२ सोमबार ००:००  ८ : १६ बजे