१८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026

आचार संहिता विपरित उम्मेदवार शाहको प्रचारमा भारतीय पूर्वमन्त्री कृष्णनगरमा



कपिलवस्तु । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कपिलवस्तु–३ मा चुनावी सरगर्मी बढिरहेका बेला कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले भारतीय नेता जगदम्बिका पाल नेपालकाे भूमिमा प्रवेश गरेर मत मागेपछि राजनीतिक विवाद चुलिएको छ ।

शाहले आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोमा उत्तर प्रदेशका पूर्व मन्त्री पालले मतदातासँग विभिन्न विकासको निर्माणको प्रलोभन देखाउँदै शाहको पक्षमा मतदान गर्न अपिल गरेका थिए । नेपालमा निर्वाचनको प्रचारप्रसार तीब्र रहेको अवस्थामा शाहको निवास पुगेका थिए । त्यहीँबाट मतदातालाई समर्थन गर्न आग्रह गरिएको तथ्य सार्वजनिक भएपछि यस घटनाले उम्मेदवार शाहमाथि कानुनी तथा नैतिक प्रश्न उठाएको छ ।

नेपालको निर्वाचन कानुन तथा आचारसंहिताअनुसार विदेशी नागरिकलाई प्रत्यक्ष रूपमा चुनावी प्रचार–प्रसारमा संलग्न हुन निषेध गरिएको छ । यदि विदेशी नागरिकले कुनै उम्मेदवारको पक्षमा खुलेर मत मागेको प्रमाणित भएमा सम्बन्धित उम्मेदवारमाथि कारबाही हुन सक्ने प्रावधान छ ।

घटना सार्वजनिक भएसँगै विपक्षी दल तथा स्थानीय नेताहरूले विदेशी हस्तक्षेप अस्वीकार्य भएको टिप्पणी गरेका छन् । उनीहरूले निर्वाचन स्वतन्त्र, निष्पक्ष र सार्वभौम प्रक्रियाअन्तर्गत सम्पन्न हुनुपर्ने भन्दै निर्वाचन आयोगसँग छानबिनको माग गरेका छन् ।

यता शाह पक्षले भने उक्त भेटलाई ‘शिष्टाचार भेट’ मात्र भएको दाबी गरेको छ । उनीहरूको भनाइमा कुनै औपचारिक चुनावी कार्यक्रम नभएको र व्यक्तिगत सम्बन्धका आधारमा भेटघाट भएको दावी छ । निर्वाचन कार्यालय कपिलवस्तुले भने उक्त कार्य आचारसंहिता विपरीत हुन सक्ने संकेत गर्दै कानुनअनुसार आवश्यक कदम चालिने जनाएको छ । औपचारिक उजुरी परेमा निर्वाचन आयोगले तथ्य जाँच गरी आवश्यक निर्णय गर्नेछ । विदेशी नेताको खुला उपस्थितिमा मत मागिएको विषयले कपिलवस्तु–३ को चुनावी माहोल थप तातेको छ । यस घटनाले कानुनी, कूटनीतिक तथा नैतिक बहसलाई तीव्र बनाएको छ भने आयोगको कदमप्रति सबैको ध्यान केन्द्रित भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२ सोमबार ००:००  ८ : ३९ बजे