वाणगंगा । भोली हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कपिलवस्तु जिल्लामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार मतदान केन्द्रको व्यवस्थापन, मतदान सामग्रीको ढुवानी तथा सुरक्षा प्रबन्ध मिलाइसकिएको छ । भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
मतदानलाई स्वच्छ, मर्यादित र निष्पक्ष बनाउन निर्वाचन केन्द्रभित्र मोबाइल फोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान स्थल बाहिर मोबाइल प्रयोग गर्न पाइए पनि मतदानका क्रममा मोबाइल साथमा राख्न नपाइने स्पष्ट गरिएको निर्वाचन कपिलवस्तु क्षेत्र न. १ का प्रमुख गणेश गाैतमले जानकारी दिनुभयाे । सोहीअनुसार कपिलवस्तुका मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृत तथा कर्मचारीहरूले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरी निर्वाचन आचारसंहिता सम्बन्धी आवश्यक निर्णय समेत गरिसकेका छन् । साथै, सुरक्षा निकायका प्रमुख तथा मातहतका निकायलाई चेकजाँचमा कडाइ गर्न निर्देशन दिइएको छ ।
जिल्लाभरिका सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकिएको र आवश्यक मतदान सामग्री सम्बन्धित केन्द्रमा पुर्याइसकिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख कमल भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार मतपेटिका, मतपत्र, छाप, मतदाता नामावलीलगायतका सामग्री सुरक्षित रूपमा केन्द्रसम्म पुर्याइएको छ भने मतदानका लागि अन्तिम व्यवस्थापनको तयारी भइरहेको छ ।
कपिलवस्तु जिल्लाभर २ सय ३५ मतदान स्थलमा ४ सय ९० मतदान केन्द्र कायम गरिएको छ । जिल्लामा कुल ३ लाख ९६ हजार २ सय ६५ मतदाता रहेका छन् । अस्थायी मतदान केन्द्रको व्यवस्था कारागारमा समेत गरिएको छ । मतदानमा खटिएका कर्मचारीको हकमा अस्थायी मतदाता नामावलीमा नाम रहेको कर्मचारीले मात्र समानुपातिक तर्फ मतदान गर्न पाउने भएका छन् ।
सुरक्षा व्यवस्थालाई पनि कडाइ गरिएको कपिलवस्तुका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार २४ सै घण्टा सुरक्षा निकाय परिचालन गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा आवश्यक स्थानमा नेपाली सेना समेत परिचालन गरिएको छ ।







प्रतिक्रिया