२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

महँगीको भयले वाणगंगामा इन्धन स्टक गर्न थाले उपभोक्ता



कपिलवस्तु । अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्ने त्रास बढेपछि कपिलवस्तुको वाणगंगा क्षेत्रमा उपभोक्ताहरूले इन्धन स्टक गर्न थालेका छन्।

पश्चिम एसियामा बढ्दो तनाव र सम्भावित आपूर्ति अवरोधको खबरसँगै स्थानीय उपभोक्ताहरूले पेट्रोलियम पदार्थ किनेर घरमै भण्डारण गर्न थालेका हुन्। यतिबेला धेरैजसो मोटरसाइकल चालकले पेट्रोल ट्याङ्की फुल गरिरहेका छन् भने कतिपयले जरकिनमा समेत पेट्रोल खरिद गरेर लैजान थालेका छन्।

स्थानीय एक युवाले पेट्रोलको मूल्य बढ्ने डरका कारण अहिले नै किनेर राखेको बताए। उनले भने, “अहिले नै पेट्रोल किनेर राख्दा कम्तीमा एक–दुई महिनासम्म ढुक्क हुन्छ। पछि मूल्य बढ्ने सम्भावना भएकाले स्टक गरेर राखेको हुँ।”

एक पेट्रोल पम्पका कर्मचारीका अनुसार पछिल्ला दुई–तीन दिनदेखि ग्राहकहरूले सामान्यभन्दा बढी मात्रामा पेट्रोल खरिद गरिरहेका छन्। उनका अनुसार धेरैले मोटरसाइकलको ट्याङ्की फुल गराउने मात्र होइन, अतिरिक्त रूपमा जरकिनमा समेत पेट्रोल लैजाने गरेका छन्।

यसैबीच एलपी ग्यासमा कालोबजारी बढेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले कडा कारबाही गर्ने चेतावनी दिएको छ। मंगलबार प्रशासनले सूचना जारी गर्दै ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जारी गरेको सूचनामा उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासोप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। प्रशासनले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने पनि जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरमा भने अमेरिका–इजराइल आक्रमणपछि इरानले होर्मुज जलडमरू मार्ग अवरुद्ध गरेको तथा तेल प्रशोधन क्षेत्रहरूमा आक्रमण बढेको खबर सार्वजनिक भइरहेका छन्। यसको प्रभाव विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको आपूर्ति र मूल्यमा पर्न थालेको छ।

विश्व बजारमा कच्चा तेलको मूल्य र माग बढ्न थालेसँगै त्यसको असर नेपाली बजारमा पनि देखिन सक्ने भन्दै उपभोक्ताहरूमा चिन्ता बढ्दै गएको छ। त्यसकै कारण धेरैले अहिले नै इन्धन भण्डारण गर्न थालेका छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०८२ बुधबार ००:००  ८ : ०४ बजे