३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

पूर्व विद्यार्थी किशोर ज्ञवालीद्वारा बाल माविलाई स्मार्ट बोर्ड सहयोग



वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका–१ बैरिया स्थित श्री बाल माध्यमिक विद्यालयलाई आधुनिक प्रविधिसहितको स्मार्ट बोर्ड सहयोग गरिएको छ। विद्यालयका पूर्व विद्यार्थी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका किशोर ज्ञवालीले विद्यार्थीको पठनपाठनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन स्मार्ट बोर्ड उपलब्ध गराउनुभएको हो।

शुक्रबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच ज्ञवालीका दाजु–भाउजू किरण ज्ञवाली र संगिता ज्ञवालीले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाको उपस्थितिमा उक्त स्मार्ट बोर्ड विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो।

सूचना प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा विद्यार्थीलाई आधुनिक शिक्षण विधिसँग जोड्ने उद्देश्यले पछिल्लो एआई भर्सनसहितको नयाँ प्रविधियुक्त स्मार्ट बोर्ड विद्यालयलाई प्रदान गरिएको हो। यसले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन, पाठलाई दृश्यात्मक र अन्तरक्रियात्मक बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका सदस्य हरि अधिकारीका अनुसार विद्यालयमा विभिन्न आवश्यकताहरू भएपनि विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न र नयाँ विषयवस्तुबारे जानकारी गराउन स्मार्ट बोर्डको आवश्यकता देखिएकाले सहयोगका लागि पहल गरिएको थियो। सोही अनुसार विद्यालयका पूर्व विद्यार्थी तथा हाल अमेरिकामा रहनुभएका किशोर ज्ञवालीलाई अनुरोध गरिएको र उहाँबाट डेढ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको अधिकारीले जानकारी दिनुभयाे।

कार्यक्रममा समाजसेवी तथा युवा व्यवसायी किरण ज्ञवालीले आफूले अध्ययन गरेको विद्यालयको प्रगति हेर्ने इच्छा रहेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्न आफू तयार रहेको उल्लेख गर्नुभयो। उहाँले गाउँघरका विद्यार्थीहरू विभिन्न अभाव र समस्याबीच अध्ययन गरिरहेकाले अन्य सहयोगी निकाय तथा व्यक्तिहरूसँग समन्वय गरेर थप सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम घिमिरे तथा विद्यालयका प्रधानाध्यापक टिकाराम पौडेलले विद्यालयको आवश्यकता बुझेर विद्यार्थीलाई प्रत्यक्ष फाइदा पुग्ने शैक्षिक सामग्री सहयोग गर्ने ज्ञवाली परिवारप्रति आभार व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता तथा शिक्षक कृष्ण प्रसाद भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रअ, शिक्षक–शिक्षिका तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ३० फाल्गुन २०८२ शनिबार ००:००  ८ : ०२ बजे