३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

कपिलवस्तु १ चुनावी समीक्षा : नेतृत्वको कार्यशैली र कमजोरीका कारण पराजय, सत्य बोल्ने संस्कृतिको माग



वाणगंगा । कपिलवस्तु क्षेत्र न. १ मा भएको चुनावी पराजयबारे गरिएको समीक्षामा पार्टीभित्रको नेतृत्वशैली, कार्यकर्तासँगको दूरी र नीतिगत कमजोरी मुख्य कारणका रूपमा औँल्याइएको छ। स्थानीय नेताहरूले अब पार्टीभित्र सत्य बोल्ने संस्कृतिको विकास गर्नुपर्ने र आत्मसमीक्षाबाट सुधारको बाटो समात्नुपर्ने बताएका छन्।

समीक्षाका क्रममा वक्ताहरूले नेतृत्वलाई अत्यधिक महत्व दिएर आलोचनात्मक सोच नअपनाएको प्रवृत्तिले पनि पार्टी कमजोर बनेको उल्लेख गरे। नेताहरूको कार्यशैली र व्यवहारका कारण आजको अवस्था आएको उनीहरूको भनाइ थियो।

नेता मदन शाहीले नेता सधैं अनुकरणीय हुनुपर्ने बताउँदै जनताको कामप्रति बेवास्ता गर्दा यस्तो परिणाम आएको बताए। “हामी अहिले वास्तविकतामा फर्किएका छौँ। अब भएका साथीहरू अझ सक्रिय भएर लाग्नुपर्छ,” उनले भने। उनले पार्टीको नीति र कार्यक्रम राम्रो भए धेरै मानिसको भीड आवश्यक नपर्ने पनि बताए। साथै, जनप्रतिनिधि र पार्टीबीच समन्वय नहुँदा संगठन कमजोर भएको उनको भनाइ थियो।

समीक्षामा अवसरवाद बढेको भन्दै त्यसप्रति कडा कदम चाल्नुपर्ने धारणा पनि व्यक्त गरियो। केही नेताहरूले अवसरवादी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै मधुसुधन कुर्मीमाथि कारबाहीको माग गरेका छन्। उनीहरूको आरोपअनुसार केही नेताहरूको व्यक्तिगत स्वार्थका कारण पार्टीको छवि कमजोर बनेको छ।

त्यसैगरी, चुनावी हारको अर्को कारण नीतिगत कमजोरी र आर्थिक सुशासनको अभाव भएको बताइएको छ। नेताहरूले पार्टीलाई केन्द्रदेखि तल्लो तहसम्म पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याए। “हामीले भोगेको हारबाट पाठ सिक्नुपर्छ। हामी मात्र सबै हौँ भन्ने सोच त्याग्नुपर्छ,” वक्ताहरूले भने।

नगर अध्यक्ष सोमनाथ अर्यालले पार्टीभित्रका कार्यकर्तामा आशा घट्दै गएको उल्लेख गर्दै त्यसलाई पुनः जगाउनुपर्ने बताए। उनका अनुसार युवापुस्ताले नयाँ नेतृत्व र नयाँ सोच खोजिरहेको छ। उनले भने, “आजका युवाहरूले नयाँ नेतृत्वको चर्चा गरिरहेका छन्, तर हाम्रो नेतृत्वका कारण पार्टी अप्ठ्यारोमा परेको छ।”

समीक्षामा सहभागी अन्य नेताहरूले देशव्यापी रूपमा पनि यस्तै समस्या देखिएको टिप्पणी गरे। उनीहरूले पार्टीका कमिटीहरू कर्मकाण्डी बन्न पुगेको र नेतृत्वको कमजोरीका कारण संगठन कमजोर भएको बताएका छन्। पार्टी भित्र अवसरवाद बढेको र एकैघरका परिवारले फाइदा लिने गरेको औल्याएका थिए । निर्वाचन परिचालन कमिटी नाम मात्रका भएकाे समेत बताए ।

यसैबीच, चुनावमा उम्मेदवार रहेका विश्राम चौधरीले पार्टीभित्र एकअर्कासँग समन्वयको अभाव भएको स्वीकार गर्दै सबै नेता–कार्यकर्ता आ–आफ्नै तरिकाले हिँड्ने प्रवृत्ति बढेको बताए। उनले चुनावमा जमानत जफत हुनु निकै दुःखद भएको उल्लेख गर्दै भविष्यका लागि संगठनात्मक एकता आवश्यक रहेको बताए।

समीक्षा बैठकमा सहभागी नेताहरूले आगामी दिनमा पार्टीलाई बलियो बनाउन संगठन पुनर्गठन, युवालाई अवसर, आर्थिक पारदर्शिता र कार्यकर्तासँग निरन्तर सम्पर्क बढाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले आत्मसमीक्षा र सुधारको प्रक्रियाबाट मात्रै पार्टीप्रति जनताको विश्वास पुनः स्थापित गर्न सकिने निष्कर्ष निकालेका छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०८२ शनिबार ००:००  ८ : ४४ बजे