काठमाण्डौ ।
लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा. स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुनुहुन्छ । गोरखाको बुङ्कोटमा जन्मिनुभएका डा. वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति हुनुहुन्छ । उहाँले २०४२ सालको प्रवेशिका परीक्षामा बूढानीलकण्ठ स्कूलबाट देशभरबाट दोस्रो स्थान हासिल गर्नुभएको थियो ।
डा. वाग्लेले लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक, हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी (विद्यावारिधि) गर्नुभएको छ ।
राजनीतिमा पूर्णकालीन रूपमा सहभागी हुनुअघि डा. वाग्लेले दुई दशकभन्दा बढी समय अन्तर्राष्ट्रिय एवम् बहुपक्षीय आर्थिक मञ्चमा महत्वपपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले अमेरिकाको वासिङ्टन डिसीमा रहेको विश्व बैंकमा वरिष्ठ अर्थशास्त्री र न्यूयोकमा रहेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको मुख्यालयमा एशिया र प्रशान्त क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिसक्नुभएको छ ।
नीति तथा योजना निर्माणमा पनि उहाँले महत्त्वपूर्ण योगदान दिनुभएको छ । राष्ट्रिय योजना आयोगको सदस्य र सन् २०१७ देखि २०१८ सम्म उपाध्यक्षका रूपमा उहाँ सफल नेतत्व गरिसक्नुभएको छ ।
नेपाली कांग्रेसमा वैचारिक र नीतिगत तहमा रहेर भूमिका निर्वाह गर्नुभएका डा. वाग्ले २०७९ सालको चैतमा पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो । अहिले उहाँ रास्वपाको उपसभापति र तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । डा. वाग्ले गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा ३८ हजार ४० मत प्राप्त गरी विजयी हुनुभएको हो ।
विशेषगरी तथ्याङ्क र तर्कमा आधारित नीतिगत बहस गर्ने बौद्धिक नेताका रूपमा स्थापित डा. वाग्लेले संसद्मा आर्थिक सुधार, सुशासन र युवा स्वरोजगारका विषयलाई प्रमुखताका साथ उठाउँदै आउनुभएको छ ।
गोरखा जन्मिनुभएएका वाग्ले सामान्य पारिवारिक परिवेशमा हुर्किंनुभएको हो । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उहाँ अध्ययनशील र तर्कशील नेताका रूपमा चिनिनुहुन्छ ।
विकास अर्थशास्त्र, सार्वजनिक नीति तथा आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गर्नुभएको छ । त्यही अनुभवका कारण उहाँ अन्तर्राष्ट्रियस्तरका नीतिगत बहसमा सहभागी हुँदै आउनुभएको छ । उच्च शिक्षालगत्तै उहाँले विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गर्नुभएको थियो । विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममार्फत डा. वाग्लले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका क्षेत्रमा विशेष योगदान गर्नुभएको छ ।
योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा उहाँले अगाडि सार्नुभएको अवधारणामा नै बहुउद्देश्यीय बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरू गर्ने तयारी भएको छ । आन्तरिक स्रोतको उपयोग गरेर त्यो आयोजनालाई अगाडि बढाउने गरी सरकारले निर्णय गरिसकेको छ । त्यसका अलावा त्यसको जिम्मेवारीमा रहँदा उहाँले देशको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार तथा सुशासनका विषयमा काम गर्नुभएको थियो ।
खासगरी राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिसँग जोड्नुपर्छ, मध्यमवर्गको विस्तार गर्नुपर्छ भन्ने मत राख्नुहुने डा. वाग्ले समकालीन नेपालको स्थापित अर्थशास्त्री एवम् विकास रणनीतिकर्ताका रूपमा स्थापित हुनुहुन्छ ।
‘राजनीति कोरो कल्पना र सपना मात्रै होइन, जनताले परिवर्तनको महसुस गर्नुपर्छ र त्यसका लागि गुणात्मक परिवर्तन गर्नुपर्छ’, भन्ने उहाँले मत राख्दै आउनुभएको छ ।
चुनावका क्रममा डा. वाग्लले विकास, सुशासन, रोजगारी सिर्जना तथा आर्थिक सुधारलाई प्रमुख एजेन्डा बनाउनुभएको थियो । आफ्नो विषय प्रष्टसँग राख्ने, राजनीतिमा आलोचनाभन्दा पनि विचारले श्रेष्ठ सावित हुनुपर्छ भन्ने मान्यता राख्ने डा. वाग्लेले मतदातासँग प्रत्यक्ष संवादका क्रममा नयाँ सोच र परिणाममुखी राजनीतिका विषय उठाउनुभएको थियो ।
डा. वाग्ले नेपाली राजनीतिमा नीतिगत क्षमता र आर्थिक विषयको ज्ञान भएका नेताका रूपमा चिनिनुहुन्छ । अघिल्लो पटक सङ्घीय संसद्का रुपमा उहाँले सदनमा खेल्नुभएको भूमिका पनि स्मरणीय रहेको छ ।उहाँका विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा अर्थतन्त्रसम्बन्धी लेख तथा विचार प्रकाशित छन् । खासगरी समस्या पहिचान, तथ्य र आँकडा प्रस्तुतिका कारण डा. वाग्लेकोे विश्लेषण समसामयिक र समस्या समाधानमा केन्द्रित रहने गरेको छ ।
खासगरी, अर्थतन्त्र र विकास नीतिमा उहाँको विशिष्ठ अनुभवले समृद्ध नेपाल निर्माणको सपना पूरा हुने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया