१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकविरुद्ध अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले १० दिनको म्याद माग गरे पनि अदालतले ५ दिनको मात्रै म्याद दिएको हो। 

न्यायाधीश आनन्द प्रसाद श्रेष्ठको इजलासले दुवैलाई ५-५ दिनको म्याद थप गर्ने अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।

केपी शर्मा ओलीको हकमा आवश्यक उपचार प्रवन्ध मिलाउन पनि अदालतले आदेश दिएको श्रेष्ठले बताए। भदौ २३ र २४ गतेको जेनजी आन्दोलन दमन गरेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई प्रहरीले शनिबार विहान निवासबाटै पक्राउ गरेको थियो। 

ओलीको स्वास्थ्य अवस्थाका कारण उनलाई त्रिवि शिक्षण अस्पतालमै भर्ना गरेर राखिएको छ। उनलाई अस्पतालबाटै  भर्चुअल माध्यमबाट अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो भने लेखक भौतिक रुपमै उपस्थित भएका थिए। 

प्रकाशित मिति : १५ चैत्र २०८२ आइतबार ००:००  ९ : १४ बजे