कपिलवस्तु ।
वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बिहिबार सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत बुद्धभूमि नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम वडा नम्बर ९ बरकलपुरमा रहेको बुद्धभूमि बहुमूखि क्याम्पसमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने विषयहरू, सम्भावित जोखिमहरू तथा कानुनी परामर्श सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले कार्यक्रम ज्ञानवर्धक रहेको उल्लेख गर्दै अनुशासित रूपमा कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले कार्यक्रमको उद्देश्य सबैलाई वैदेशिक रोजगारीमा जान प्रोत्साहन गर्नु नभई, जानै परेमा सचेत र सुरक्षित रूपमा जान प्रेरित गर्नु रहेको बताउनुभयो।
कार्यक्रमको पहिलो सत्रमा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का जिल्ला संयोजक सुवास रेग्मीले वैदेशिक रोजगारीमा जाँदा आवश्यक कानुनी सचेतना, आवश्यक सीप तथा तयारीबारे जानकारी गराउनुभयो। उहाँले सामी कार्यक्रममार्फत विदेश जान चाहनेहरूलाई सहजीकरण, सीप विकास, वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिँदै आएको जानकारी दिनुभयो।
त्यसैगरी रोजगार संयोजक रबिन चौधरीले लुम्बिनी प्रदेशसहित कपिलवस्तु जिल्लाबाट वैदेशिक रोजगारीमा गएका नागरिकहरूको अवस्था तथा नगरपालिकाले गरिरहेका कार्यबारे जानकारी गराउनुभएको थियो।







प्रतिक्रिया