२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न



वाणगंगा । समावेशी तथा गुणस्तरीय शिक्षाका लागि शिक्षा सबलीकरण गर्ने उद्देश्यले शिक्षक–शिक्षिकाहरूका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। उक्त तालिममा बालमैत्री शिक्षण विधि तथा गुणस्तरीय शिक्षण अभ्यासमा विशेष जोड दिइएको थियो।

तालिममा प्रशिक्षक रोमकान्त घिमिरे, खिमबहादुर जिसी र गोविन्द खनालले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा १३ वटा विद्यालयबाट २४ जना शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा सहभागी शिक्षकहरूका तर्फबाट शुद्धोधन माविका युवराज पौडेल र जननी आवि मधुवनकी रुद्रमाया पौडेलले तालिमले शिक्षण विधिलाई थप प्रभावकारी बनाउनुका साथै शिक्षकहरूलाई नयाँ ऊर्जा र पुनर्ताजगी प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तिलोचन घिमिरेले शिक्षकहरू कक्षा कोठामा उत्प्रेरकको भूमिकामा रहनुपर्ने उल्लेख गर्दै विद्यार्थीहरूको सिक्ने क्षमतालाई वृद्धि गर्न नवीन सिप तथा शिक्षण विधिहरू अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा शिक्षा सवाल अधिकृत मञ्जु भट्टराईले गुणस्तरीय कक्षा कोठा निर्माणका लागि शैक्षिक सामग्रीको प्रभावकारी प्रयोग र बालमैत्री कक्षा व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। यसले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ ।

उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण (विलिफ) कार्यक्रम स्टोम फाउण्डेशनको सहयोग, वाणगंगा नगरपालिकाको सहकार्य तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारीमा विगत ८ वर्षदेखि वाणगंगा नगरपालिकामा सञ्चालन हुँदै आएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२ बुधबार ००:००  ९ : ३५ बजे