प्यूठान । चैत २९ गते राती करीव साढे ३ घण्टा पैदल हिँडेर केटी साथी भेट्न पुगेका थिए सुशिल परियार । १९ वर्षीय सुशिल प्यूठानको नौबहिनी गाउँपालिका ४ खवाङदेखी हिडेर गौमुखी गाउँपालिका ४ वाग्लिवाङ पुगेका थिए ।
एक जना केटा साथी लिएर जुपाल सामुदायिक वनमा पुगेका सुशिलको भरुवा बन्दुकको गोली लागेर ज्यान गएको छ ।
आईतबार राती करीव पौने ११ बजेको समयमा जंगलमा बसिरहेका शुसिल सहित ४ जनामध्ये सुशिल र एक बालिकालाई भरुवा बन्दुको गोली लागेको थियो । गम्भीर घाइते सुशिलको उपचारको क्रममा लुम्बिनी सिटी अस्पताल बुटवलमा मृत्यु भएको छ भने बालिका खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले बुधबार पत्रकार भेटघाट गरेर जानकारी दिँदै घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । शिकार खेल्न गएका चार जना व्यक्तिले बँदेलको आशंका मानेर भरुवा बन्दुक हानेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले गौमुखी गाउँपालिका ४ खलावाङका २७ वर्षीय विक्रम केसी, उनको भाई विश्वास केसी, १९ वर्षीय रवि केसी र एक जना बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा २ नाल भरुवा बन्दुक समेत बरामद गरेको जनाएको छ । नियन्त्रणमा रहेका व्यक्तिहरुको अदालतबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।







प्रतिक्रिया