९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

बनकसियाका शुभलक्ष्मी र कालिकाले पनि चलाइ रहेका छन अवैध क्रेसर



मायादेवी अनलाइन, बाणगंगा ।
धोएको बालुवा बेच्ने लाइसेन्स लिएर क्रेसर चलाउनेमा शुभलक्ष्मी बालुवा प्रशोधन उद्योग र कालिका बालुवा प्रशोधन उद्योग पनि रहेका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ६ बनकसियामा बर्षौदेखि धोएको बालुवा बेच्ने गरी अनूमति लिएका शुभलक्ष्मी र कालिकाले पनि क्रेसर चलाइरहेका हुन् ।

बाणगंगा खोलामा अवैध क्रेसर निर्वाध चलिरहेका छन् । तर नियामक निकाय मुखदर्शक भएको सरोकारवालाले बताउँदै आएका छन् ।

बनकसियामा सञ्चालनमा आएका क्रेसरले असाध्यै समस्यामा पारेको हुमराज खनालले बताए । ‘अवैध क्रेसरले बनकसिया र सुठौली गाउँ प्रभावित बनिरहेका छन् । गाउँनै प्रभावित हुँदा समेत नियामक निकाय किन मुखदर्शक बनिरहेको छ ? उनले आक्रोसित हुँदै भने ।’

बालुवा प्रशोधन उद्योगले जथाभावी नदीजन्य पदार्थ डम्पिङ गर्दा गाउँनै धुँलोको कारण कुहिरीमण्डल हुने गरेको छ । यत्रतत्र नदीजन्य पदार्थको डम्प, क्रेसरमा आउने सवारीको अत्याधिक चापको कारण गाउँले उद्योगको प्रत्यक्ष मारमा छन् ।

उद्योग सञ्चालन हुनुपूर्व धोएको बालुवा मात्र बेच्ने भनिएपनि उद्योगले विभिन्न स्वार्थ समूह प्रयोग गरी क्रेसर चलाएको हो । जसले गर्दा गाउँले आचश्र्य चकित छन् ।

‘पहिला उद्योगीले धोएको बालुवा बेच्ने भने, हामीले ठीकै छ भन्यौं, तर अहिले एकाएक क्रेसर चलाउँदा हामी नराम्रोसँग प्रभावित बन्यौं,’ एक जना गाउँलेले भने ।

उद्योगीले गाउँका सोझासिधा जनतालाई उल्लू गराएर क्रेसरको लाइसेन्स लिएको बताउँछन् । गाउँले भन्छन्, ‘सुरुमा विरोध गर्नेलाई उद्योगीले शेयर बाँडे, केहीलाई आर्थिक प्रलोभनमा पारे, केहीलाई जागीर दिने लोभ देखाए, केहीलाई व्यवसाय चल्छ भने, उनीहरुको स्वार्थमा सबै पर्‍यौँ। प्रशासनले गम्भीरता पूर्वक गाउँलेको समस्या सुनिदिनुपर्छ ।’

अहिलेको सरकारले अवैध क्रेसर बन्द गर्ने निर्णय लिएको प्रति गाउँले खुसी देखिन्छन् । हुमराज भन्छन्, ‘बालेन सरकारले हालै गरेको निर्णय ठीक छ । अब प्रशासनले निर्देशन कार्यान्वयन गर्न पर्‍यो।’

यी क्रेसर उद्योगको कारण गाउँमात्र होइन् नजिकैको ज्ञानोदय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी पनि प्रभावित छन् । नजिकैका क्रेसरले उठाउने धुलोको कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर त गरेकै छ, जथाभावी कुदाउने सवारीको कारण ज्यानको खतरा छ ।

गएको बैशाख १ गते मात्र एक टिप्परले झण्डै अटोरिक्सालाई ठक्कर दिदाँ ठूलै दुर्घटना निम्तिन पुगेको थियो । त्यो घटनापछि गाउँलेले सुठौली गाउँ हुँदै आउने टिप्पर रोकेका छन् । ज्यानको खतरा हुने भन्दै ती टिप्परलाई यो बाटो बन्द गराएका हुन् ।


बालुवा धुने नाममा खोलिएका बालुवा प्रशोधन उद्योग कसरी एकाएक क्रेसरमा परिणत भए ? अनुसन्धान हुनुपर्नेमा गाउँलेको माग छ ।

लुम्बिनी प्रदेश सरकारको उद्योग मन्त्रालयबाट आफूहरुले क्रेसर उद्योग सञ्चालनको अनुमति पाएको उद्योगी बताउँछन् ।
उद्योगीले यो बताएपनि प्रदेश सरकारले कुन कानूनमा टेकेर बालुवा प्रशोधन उद्योगलाई क्रेसर सञ्चालनको अनुमति दियो भन्दै सरोकारवाला प्रश्न उठाउँदै आएका छन् ।

अर्कोतिर क्रेसरको डिलैबाट बाणगंगा खोला बग्छ । यिनै क्रेसर नजिकै बाणगंगा नगरपालिकाले बर्षेनी नदीजन्य पदार्थ उत्खनन खुलाउँछ । क्रेसर नजिकै नदीजन्य पदार्थ उत्खनन हुँदा अनियमितताको समेत प्रश्न उठ्ने गरेको छ ।

बाणगंगा नगरले लगाएको नदीजन्य पदार्थ उत्खननको ठेक्कामा क्रेसर नजिकै डम्पिङ दिदाँ समेत मिलेमतोको प्रश्न उठ्ने गरेको छ । नगर प्रहरीको आँखा छलेर खोलाबाट उत्खनन भएको गिट्टी, बालुवा सिधै क्रेसरमा जाने गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३ बुधबार ००:००  ५ : ४० बजे