कपिलवस्तु ।
कपिलवस्तुको सीमावर्ती क्षेत्र कृष्णनगरबाट भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको करिब २५ लाख रुपैयाँबराबरको यौनवर्द्धक औषधि सशस्त्र प्रहरीले बरामद गरेको छ। सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको सशस्त्र प्रहरी बलले शुक्रबार दिउँसो ठुलो परिमाणमा उक्त औषधि बरामद गरेको जनाएको छ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कपिलवस्तुलाई प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) यज्ञमान साउदको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका– १, शिवानगर क्षेत्रमा खानतलासी गर्ने क्रममा बेवारिसे अवस्थामा ३३० थान ‘युरिफिल इफेक्ट’ नामक यौनवर्द्धक औषधि फेला पारेको थियो।
बरामद गरिएको औषधिको अनुमानित बजार मूल्य २४ लाख ७५ हजार रुपैयाँ रहेको बताइएको छ। आवश्यक कानुनी प्रक्रिया अघि बढाउन औषधि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नम्बर २८ गण हेडक्वार्टर कपिलवस्तुका प्रमुख शशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले सीमा क्षेत्रमा अवैध कारोबार रोक्न सुरक्षा निकाय सतर्क रहेको बताएका छन्।
उनले भने, ‘सीमाबाट हुने चोरी तस्करी तथा अवैध ओसारपसार नियन्त्रण गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो। प्राप्त सूचनाका आधारमा गरिएको निगरानी र खोजतलासीकै क्रममा ठुलो परिमाणमा यौनवर्द्धक औषधि बरामद गर्न सफल भएका छौँ। यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउन सशस्त्र प्रहरी प्रतिबद्ध छ।’
अधिकारीका अनुसार बरामद औषधिको नेपालमा बिक्री–वितरणका लागि आवश्यक अनुमति छ वा छैन भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको छ।
कृष्णनगर भन्सार कार्यालयले पनि उक्त औषधिको वैधानिकता तथा आयात प्रक्रियाबारे औषधि व्यवस्था विभागसँग जानकारी माग गरिएको जनाएको छ।
सीमामा हुने यस्ता अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती, निगरानी तथा कडाइलाई थप प्रभावकारी बनाएको जनाएको छ। सुरक्षा निकायको सक्रियताले सीमावर्ती क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणमा सकारात्मक सन्देश दिएको स्थानीयवासीको भनाइ छ।







प्रतिक्रिया