२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

घेरवा बनगाईमा बाँदर आतंक, ६ जनालाई टोकेर घाइते गरायो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ बनगाईँमा बाँदरले आतंक मच्चाएको छ । महिनौदेखी घेरवा बनगाई बजार वरपर बसोबास गर्दै आएको बाँदर आक्रमण शैलीमा उत्रन थालेको हो ।

बजार वरपर बसोबास गर्दै आएको उक्त बाँदरले टोकेर अहिलेसम्म ६ जना घाइते भएका वनगाईका कृष्ण पाण्डेले बताए ।

हालै मात्र बाणगंगा ७ बनगाईकी मनकला भुसाललाई बाँदरले टोकेर घाइते बनाएको पाण्डेले बताए । यसभन्दा अगाडी कमला सुनार, खडानन्द आचार्य, पम्फा भुसाल लगायतलाई टोकेर बाँदरले घाइते गराएको थियो ।

सिंगो बजारमा बाँदर आतंक मच्चिएपछि बजारबासीलाई नियन्त्रणका प्रयास गर्नका लागि सव डिभिजन वन कार्यालय मोतीपुरलाई अनुरोध गरेका छन् । वनलाई एकपत्र लेख्दै तत्काल बाँदर नियन्त्रण गरी ज्यानको सुरक्षा गराईदिन पत्र लेखिएको हो ।

महिला तथा बालबालिका मात्र होइन् वृद्ध अवस्थाका पुरुषलाई समेत बाँदरले आक्रमण गर्ने गरेको छ । पाण्डेले भने, ‘मान्छे देख्दा वित्तिकै बाँदरले लुकेरै आक्रमण गर्न थाल्यो । बाँदरको डरले बालबच्चा बाहिर निस्कनै छाडे, कुन बेला के हुन्छ बाँदरले त्रास बढायो ।’

यता सव डिभिजन वन कार्यालय मोतीपुरले बाँदर नियन्त्रणका लागि के गर्ने भन्नेबारे डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवासँग समन्वय भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २ असार २०८३ मंगलबार ००:००  ६ : २४ बजे