कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर हटाउने अभियान सुरु गरेको छ ।
अभियानको पहिलो दिनमै जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ४२ वटा सवारी साधनमा जडान गरिएका कालो स्टिकर हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका ट्राफिक एकाइले संयुक्त रूपमा सञ्चालन गरेको जाँचमा कालो स्टिकर प्रयोग गरिएका सवारी साधनलाई नियन्त्रणमा लिई स्टिकर हटाउन लगाइएको हो ।
ट्राफिक प्रहरीका अनुसार सवारी साधनको सिसामा अत्यधिक कालो स्टिकर प्रयोग गर्दा सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा आपराधिक गतिविधिको अनुसन्धानमा समेत चुनौती सिर्जना हुने भएकाले अभियान सञ्चालन गरिएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन अनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारी साधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी कुनै पनि प्रकारको हेरफेर गर्न पाइँदैन ।
सोही कानुनी व्यवस्था विपरीत जडान गरिएका कालो स्टिकर हटाउने कार्यलाई प्राथमिकता दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।













प्रतिक्रिया