१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

कपिलवस्तुमा १३ नाल बन्दुक बरामद



कपिलवस्तु । कपिलवस्तुमा पछिल्लो साढे दुई महिनाको अवधिमा प्रहरीले १३ नाल घरेलु बन्दुक बरामद गरेको छ । अवैध हतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बरामद भएका हतियारमध्ये १२ नाल घरेलु लामो बन्दुक र एक नाल छोटो बन्दुक छन् । साउनदेखि असोजको पहिलो सातासम्मको अवधिमा यी हतियार बरामद भएका हुन् ।

प्रहरीका अनुसार साउन महिनामा मात्रै ७ नाल घरेलु बन्दुकसहित तीन जना पक्राउ परेका थिए । भदौ महिनामा थप ५ नाल बन्दुक बरामद भएको थियो । त्यसैगरी असोजमा एक नाल बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

यस अवधिमा बरामद भएका हतियारमध्ये अधिकांश घरेलु रूपमा बनाइएका लामो बन्दुक रहेको प्रहरीको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा हतियार राख्ने तथा प्रयोग गर्ने गतिविधिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले अवैध हतियारको प्रयोगबाट आपराधिक गतिविधि हुन सक्ने भएकाले हतियार लुकाएर राख्ने वा प्रयोग गर्ने व्यक्तिमाथि निगरानी र कानुनी कारबाहीलाई निरन्तरता दिएको जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३ शनिबार ००:००  ८ : ५५ बजे