१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

बाणगंगामा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री बरामद



बाणगंगा । बाणगंगा नगरपालिकाले नगर क्षेत्रका बजार तथा व्यावसायिक प्रतिष्ठानमा बजार अनुगमनलाई तीव्रता दिएको छ। नगरवासीको स्वास्थ्य र उपभोक्ता हितलाई ध्यानमा राख्दै नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको हो।

नगर प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाले वर्षमा दुईदेखि तीन पटक बजार अनुगमन गर्दै आएको जानकारी दिनुभयो। अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य वस्तुको बिक्री, खाद्य पदार्थमा अखाद्य वस्तुको मिसावटलगायतका विषयमा विशेष निगरानी गरिएको उहाँले बताउनुभयो।

उपप्रमुख रीता कुमारी चौधरीले बजार अनुगमनलाई निरन्तरता दिइने बताउँदै बजार क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत अनुगमनलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो। उहाँले मासु पसल, भेटेरिनरी तथा एग्रोभेटलगायतका व्यवसाय कानुनी रूपमा दर्ता गरी सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो।

नगरपालिकाले बनगाई, ओदारी, पिपरालगायतका क्षेत्रमा गरेको अनुगमनका क्रममा म्याद नाघेका पेन्ट, प्राइमर, इमल्सन, विभिन्न जातका बीउ, फेन्टा, हर्लिक्स, हट एन्ड स्पाइसी, डायपर, कन्फिल तथा लेबल नभएको रसबरीलगायतका सामग्री बरामद गरेको छ।

अनुगमनका क्रममा दर्ता नभएका तथा नवीकरण नगरिएका व्यवसायलाई सात दिनभित्र दर्ता तथा नवीकरण गर्न सुझाव दिइएको छ। त्यस्तै, पसलमा उपभोक्ताले स्पष्ट देख्ने गरी मूल्यसूची राख्न, नापतौलको गुणस्तर कायम गर्न र खाद्य वस्तुको म्याद नियमित जाँच गर्न व्यवसायीलाई आग्रह गरिएको नगरपालिकाले जनाएको छ।

अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वस्तुको बिक्री–वितरण नगर्न व्यवसायीलाई सचेत गराएको छ। बजार अनुगमनमा नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, सम्बन्धित संघसंस्थाका प्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १६ आश्विन २०८३ शुक्रबार ००:००  ८ : ५८ बजे