१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

सन्धिखर्कमा एक पुरुषले श्रीमतीको शरीरमा मट्टितेल छर्केर आगो लगाए



काठमाडौं ।
अर्घाखाँचीको सन्धिखर्कमा एक पुरुषले आफ्नै श्रीमतीको शरीरमा मट्टितेल छर्केर आगो लगाइदिएका छन् । आगोले उनी घाइते भएकी छन् ।

सन्धिखर्क–११ रामपोतका ४२ वर्षीय खिमबहादुर मुखियाले शुक्रबार दिउँसो यस्तो घटना घटाएको प्रहरीले जनाएको छ ।

दुवै जना घरमा रहेका बेला खिमबहादुरले ३६ वर्षीया श्रीमती सुनिता मुखियामाथि मट्टितेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ ।

खिमबहादुर मदिरा सेवन गरी मातेको अवस्थामा यो घटना घटाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी दिवस जीसीले जानकारी दिए ।

आगोबाट घाइते भएकी सुनिताको अर्घाखाँची अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ ।

खिमबहादुरलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी जीसीले जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०८३ शुक्रबार ००:००  ७ : २९ बजे