१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

पेट्रोलपम्प बन्द गरे ३ देखि १० लाख रुपैयाँसम्म जरिवाना हुने



काठमाण्डौ ।

सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई जरिवाना र १५ दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानुनी प्रावधानको व्यवस्था गरेको छ ।

नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी यो प्रावधान राखेको हो । पेट्रोलपम्पका कारण अस्ति बुधवार देशभर इन्धन बिक्रीवितरण असहज भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्रीवितरण रोक्का गर्ने कानुनी प्रबन्ध गरेको हो ।

संशोधित विनियमावलीअनुसार पम्प बन्द गर्ने व्यवसायीलाई तीनदेखि १० लाख जरिवाना रुपैयाँसम्म र पाँचदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरण रोक्का हुने उद्योगमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

विक्रेता विनियमावलीको दफा २९ घ (१) मा ‘विक्रेताले नोजल सुक्खा (ड्राइ) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने’ भन्ने वाक्य थप गरिएको छ ।

यो कसुरमा पहिलोपटकलाई तीन लाख रूपैयाँ जरिवाना र पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का, दोस्रोपटकलाई छ लाख रूपैयाँ जरिवाना लिई १० दिन आपूर्ति बन्द तथा तेस्रोपटकमा १० लाख रुपैयाँ जरिवाना र १५ दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ ।

प्रकाशित मिति : १९ असार २०८३ शुक्रबार ००:००  ९ : २९ बजे