मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–१, ३, ४ र ५ का विभिन्न बस्तीमा श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको ‘घर–घरमा नर्स’ कार्यक्रम प्रभावकारी भएको छ।
समुदायको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रवाह गरिँदै आएको हो।
समूहका अनुसार कार्यक्षेत्रभित्रका विभिन्न टोलमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिक, अशक्त, दीर्घरोगी तथा हिँडडुल गर्न कठिनाइ भएका सेवाग्राहीको घरमै पुगेर आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श, नियमित स्वास्थ्य निगरानी तथा स्वास्थ्य सचेतना सम्बन्धी सेवा प्रदान गर्दै आएका छन्।
कार्यक्रमले स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ हुने नागरिकलाई विशेष राहत पुगेको बताइएको छ।
श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुशील सिंह ठकुरीले सामुदायिक वन वन संरक्षणमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा समेत लगानी गरिरहेको बताए।
‘सामुदायिक वनबाट प्राप्त आम्दानीलाई समुदायको आवश्यकताअनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार र वातावरण संरक्षणमा उपयोग गर्ने हाम्रो नीति हो। ‘घर–घरमा नर्स’ कार्यक्रमले विशेषगरी ज्येष्ठ नागरिक, अशक्त तथा दीर्घरोगीलाई ठूलो राहत दिएको छ। स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले कार्यक्रमलाई निरन्तर सञ्चालन गरेका छौं’, उनले भने ।’
अध्यक्ष ठकुरीका अनुसार नियमित स्वास्थ्य परीक्षण र परामर्शका कारण धेरै नागरिकमा रोगको समयमै पहिचान हुन सहयोग पुगेको छ भने आवश्यक परे स्वास्थ्य संस्थामा थप उपचारका लागि पनि सिफारिस गर्ने व्यवस्था मिलाइएको छ।
स्थानीयवासीले पनि कार्यक्रमबाट प्रत्यक्ष लाभ पुगेको बताएका छन्। घरमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य अवस्था जाँच्ने, आवश्यक परामर्श दिने र औषधि सेवन तथा जीवनशैलीबारे सुझाव दिने व्यवस्थाले विशेषगरी वृद्धवृद्धा र अशक्त नागरिकलाई सहज भएको उनीहरूको भनाइ छ।
सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राख्दै स्वास्थ्य, शिक्षा र सामुदायिक पूर्वाधारका क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ। ‘घर–घरमा नर्स’ कार्यक्रमलाई स्थानीयवासीले सामुदायिक वनको प्रभावकारी र जनमुखी अभियानका रूपमा लिएका छन्।













प्रतिक्रिया