कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको ३ वटाहरुमा स्थानीय बाल अधिकार समिति गठन गरिएको छ । वाणगंगाका वडा न. ७, ८ र ९ मा स्थानीय बाल अधिकार समिति गठन भएको हो । वाणगंगा नगरपालिकाको समन्वय तथा सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा संचालित बिलिफ कार्यक्रमको सहयोगमा वडा स्तरीय स्थानीय बाल अधिकार समिति गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय स्तरमा बाल अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सहजकर्ता हरी अधिकारीले बाल अधिकार, स्थानीय बाल अधिकार समितिको आवश्यकता, गठन प्रक्रिया तथा समितिको काम, कर्तव्य र अधिकारका विषयमा सहजीकरण गरेका थिए । उनले विवेदरहित समाज निर्माणका लागि बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै समितिले बाल अधिकारको संरक्षणमा सक्रिय रूपमा काम गर्नुपर्ने बताए। उनले बालबालिकालाई राष्टिय गौरवको योजनाको रुपमा हेरिनुपर्ने उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा पर्याप्त लगानी बढाउन सके राष्ट र समाज समृद्ध हुने बताएका थिए ।
नगरपालिकाको बाल अधिकार संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन सम्बन्धी एकिकृत कार्यविधि अनुसार नगरपालिकाको ३ वटा वडामा वडा अध्यक्षको अध्यक्षतामा समिति गठन भएको हो । जस अन्तरगत वडा न. ७ मा विष्णु गिरी, वडा न. ८ मा बाबुराम अर्याल र ९ मा कमल पौडेलको अध्यक्षता १३ सदस्यीय स्थानीय बाल अधिकार समिति गठन गरिएको छ। समितिमा वडा सदस्यहरू, स्वास्थ्य चौकी प्रमुख, विद्यालयको प्रतिनिधी, बालमैत्री सहजकर्ता, वडा स्तरीय बाल सञ्जालबाट एक बालक र एक बालिका प्रतिनिधि, किशोरी संजाल प्रतिनिधी तथा सदस्य सचिवको रूपमा वडा सचिव रहनु भएको छ । कार्यक्रममा वडा अध्यक्षहरुले समितिलाई सकृय बनाएर बालबालिका र बाल अधिकारको हक अधिकार सुनिश्चत गर्न आवश्यक काम गर्ने बताएका छन् । साथै भेलाले वार्षिक कार्ययोजना निर्माण समेत गरेर अगाडी बढेको छ ।
कार्यक्रमका अवसरमा कार्यक्रम निर्देशक प्रकाश घिमिरेले संस्थाले नगारपालिका र वडाहरुमा सामाजिक विकासमा ठुलो लगानी गरिरहेकाले यसको प्रभावकारीताको लागि आवश्यक समन्वय र सहकार्यमा जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा सहभागीहरूले बालबालिकामैत्री वडा निर्माण, बाल अधिकारको प्रभावकारी कार्यान्वयन तथा बालबालिकासम्बन्धी समस्या समाधानमा समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।वडा अध्यक्ष कमल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण बिलिफ कार्यक्रमका सहजकर्ता मञ्जु भट्टराई र हिरा अर्यालले गरेका थिए।













प्रतिक्रिया