२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

श्रृङ्गिघाट वनद्धारा निजी स्रोतका शिक्षकलाई तलब अनुदान तथा ज्येष्ठ नागरिक सम्मान



कपिलवस्तु ।

श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकलाई तलब अनुदान वितरण गर्नुका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। शुक्रबार ब्रमाह कुमारी ईश्वरी विश्वविद्यालयको सभाहलमा आयोजित कार्यक्रममा वनको १४ मौजा भित्रका २ सय ७५ जना ज्येष्ठ नागरिकलाई छाता, नगद तथा रामनामी सल प्रदान गरी सम्मान गरिएको थियो। वनकी सचिव सुस्मा खाँणका अनुसार कार्यक्रममा ५ वटा सामुदायिक विद्यालयका शिक्षकलाई १ महिनाको १५ हजारको दरले बार्षिक १ लाख ८० हजार रकम हस्तान्तरण गरिएको थियो भने दुई वटा फाउण्डेसनलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसर पारी आर्थिक सहयोग ४५ हजार बराबरको रकम प्रदान गरिएको थियो।
कार्यक्रमका बोल्दै राष्ट्रिय जेष्ठ नागरिक नेपालका केन्द्रीय उपाध्यक्ष राम पौडेलले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जेष्ठ नागरिकको सम्मान र हितका लागि उदाहरणीय काम गरिरहेको बताउनुभयो।
यस्तै मोतिपुर सब डिभिजन वन कार्यालयका प्रमुख एजाज अन्सारीले सामुदायिक वनले संरक्षणसँगै शिक्षा, सामाजिक सेवा र जनहितका क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।
वनका अध्यक्ष सुशील सिंह ठकुरीले सामुदायिक वनको उद्देश्य वन संरक्षणमा मात्र सीमित नरही शिक्षा, सामाजिक सेवा, ज्येष्ठ नागरिकको सम्मान तथा समुदायको समग्र विकासमा योगदान पुर्‍याउनु रहेको बताउनुभयो।
त्यसैगरी ब्रमाकुमारी ईश्वरी विश्व विद्यालयकी राधिका दिदिले वनले समाज कल्याणका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमको प्रशंसा गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।यस्तै बाणगंगा मावि गजेहडाका प्रअ रामप्रसाद भण्डारी तथा फ्रिडम फाउण्डेसनका अध्यक्ष हेमन्त थापाले वनले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेका कार्यक्रम समुदायका लागि अनुकरणीय र प्रभावकारी रहेको धारणा राख्नुभयो।कार्यक्रममा वनका उपाध्यक्ष बुद्धबहादुर साहीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सुस्मा खाँणले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा वनका पदाधिकारी, कर्मचारी, १४ मौजाका संयोजक, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २३ असार २०८३ मंगलबार ००:००  १० : १४ बजे