२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

नक्कली नोट प्रकरणदेखि उत्कृष्ट प्रहरीसम्म : उत्कृष्ट प्रहरी बने रेग्मी



कपिलवस्तु। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक होमनाथ रेग्मीलाई असार महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) घोषणा गर्दै सम्मानित गरेको छ।

प्रदेश प्रहरी कार्यालयले संगठनको नीति तथा निर्देशन बमोजिम प्रदान गरिएको पेशागत जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गरेको, मातहतका प्रहरी कर्मचारीको उत्प्रेरणा अभिवृद्धिमा योगदान पुर्‍याएको तथा अपराध अनुसन्धान, नियन्त्रण र नवप्रवर्तनात्मक कार्यक्रममार्फत आम नागरिकमा प्रहरी संगठनप्रतिको विश्वास अभिवृद्धि गर्न उल्लेखनीय भूमिका खेलेको मूल्याङ्कन गर्दै रेग्मीलाई असार महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो।

प्रहरी निरीक्षक रेग्मीको नेतृत्वमा असार महिनामै रुपन्देहीमा नक्कली नेपाली नोट छाप्ने तथा कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गर्न प्रहरीले सफलता हासिल गरेको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको थियो।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक रेग्मीको नेतृत्वमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोजतलास सञ्चालन गरेको थियो। अनुसन्धानका क्रममा नक्कली नेपाली नोट छाप्ने तथा कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गर्दै घटनाको सफल अनुसन्धान गर्न प्रहरी टोली सफल भएको थियो। उक्त कारबाहीलाई अपराध नियन्त्रणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार रेग्मीले अपराध अनुसन्धान, नियन्त्रण, समुदाय–प्रहरी साझेदारी तथा संगठनको व्यावसायिक छवि अभिवृद्धिमा पुर्‍याएको योगदानका आधारमा उत्कृष्ट प्रहरीको सम्मान प्राप्त गरेका हुन्।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी भूपेन्द्रबहादुर खत्रीले सम्मानपत्र प्रदान गर्दै रेग्मीलाई बधाई दिएका छन्। सम्मानपत्रमा प्रहरी संगठनको श्रीवृद्धि, प्रभावकारी अनुसन्धान तथा नागरिकमैत्री प्रहरी सेवाको प्रवर्द्धनमा उनले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको महिनाको उत्कृष्ट प्रहरी कार्यक्रमले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्नुका साथै संगठनभित्र व्यावसायिकता, जिम्मेवारीबोध र परिणाममुखी कार्यसंस्कृतिको विकासमा समेत टेवा पुर्‍याउँदै आएको जनाएको छ।

यसैबीच लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी प्रहरी निरीक्षक रेग्मीकाे नेतृत्वमा खटिएको टाेलीले अनुसन्धान तथा खोजतलासका क्रममा गिरोहका दुई जना पक्राउ गर्न सफल भएका थिए । रेग्मी गत कार्तिक महिनादेखि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीमा कार्यरत छन् । उनकाे कार्य सम्पादनले स्थानीय समुदायमा सकारात्मक छाप छाेडेकाे त्यहाँका सराेकारवाला बताउछन् ।

प्रकाशित मिति : २ श्रावण २०८३ शनिबार ००:००  ७ : १७ बजे