५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

पिसाबमा रगत देखिएको छ ? नगर्नुस् है बेवास्ता !



काठमाडौँ । पिसाब फेर्दा यसको रङ्ग बदलिएको जस्तो देखिरहनु भएको छ ? पिसाब अचानक सामान्यबाट गुलाबी वा रगतजस्ता बनेको मानिसहरूले प्रायः गुनासो गरेको सुनिन्छ । एक्कासि देखिने यस्ता परिवर्तनहरूले शरीरमा गम्भीर रोग विकास भएको पो हो कि भनेर चिन्ता र डर पैदा गर्न सक्छन् । 

यो भविष्यमा पीडाको कारण पनि बन्न सक्छ । यस्ता डरहरू सामान्य भए पनि, यस्ता लक्षणहरूलाई बेवास्ता गर्नु चाहिँ धेरै खतरनाक हुन सक्छ ।

कहिलेकाहीँ, मानिसहरूले पिसाबको रङ्गमा हुने परिवर्तनलाई चिसो पेय पदार्थ वा अन्य कुनै खाना खाएको परिणाम भनेर बेवास्ता गर्छन् । आफूले आएको खानेकुरा वा पेय पदार्थले पो पिसाबको रङ्ग फरक देखिएको हो, यो त छोटो समयमै निको भइहाल्छ नि भन्ने उनीहरूको सोच हुन्छ ।

तर यस्तो लापरबाहीले समस्यालाई अझ खराब बनाउन सक्छ अनि कहिलेकाहीँ अनेकौँ चेकजाँच र औषधिको सेवन गरेर मात्रै रोग निको हुन सक्छ । त्यसैले पिसाबमा रगत देखिनुको कारणहरू पहिले नै बुझ्नु राम्रो हुन्छ ।

मेडिकल भाषामा यो समस्यालाई के भनिन्छ ?

पिसाबमा रगत देखिने अवस्थालाई हेमेटुरिया भनिन्छ । यस्तो अवस्थामा पिसाब गुलाबी, रातो वा खैरो देखिन सक्छ । पिसाबमा थोरै मात्र रगत चुहिँदा पनि पिसाबको रङ फरक देखिन सक्छ । यो अवस्था भएका धेरै मानिसहरूलाई पीडा हुँदैन । तर रगत जमेको छ वा यसले पिसाब रोकिदिएको छ भने पिसाब गर्दा पीडा हुन सक्छ ।

  • मूत्राशय, मिर्गौला, मूत्रमार्ग, वा प्रोस्टेटको सङ्क्रमण वा सुन्निएर पिसाबमा रगत आउन सक्छ ।
  • कुनै पनि प्रकारको चोटपटक ।
  • मूत्रनलीमा पत्थरी भएमा ।
  • अचानक, धेरै व्यायाम गर्नाले पनि कहिलेकाहीँ यो अवस्था निम्त्याउन सक्छ ।
  • बेनाइन प्रोस्टेटिक हाइपरप्लासिया (बीपीएच)का कारण । यो पुरुषहरूमा हुने एक सामान्य समस्या हो जहाँ प्रोस्टेट ग्रन्थी बढ्छ र क्यान्सर निम्त्याउँदैन ।
  • मूत्राशयको क्यान्सर, मिर्गौलाको क्यान्सर, मिर्गौलाको पत्थरी ।
  • मिर्गौलासँग सम्बन्धित कुनै पनि गम्भीर समस्या ।
  • हेमोफिलिया जस्ता रगत जम्ने विकारहरूले पनि यो अवस्था निम्त्याउन सक्छ ।

यस्तो अवस्थामा के गर्ने ?

यदि तपाईँले यस प्रकारको समस्या भोग्नु भइरहेको छ भने ढिलाइ वा र बेवास्ता नगरी डाक्टरसँग जाँच गराउनुहोस् । केही परीक्षणहरू गरेर डाक्टरले यो रोग पत्ता लगाउन सक्छन् । समयमै सही औषधिको सेवनले छिटै रोग निको बनाउन मद्दत मिल्न सक्छ । तर तपाईँले ढिलो गर्नुभयो भने यो समस्या गम्भीर बन्न सक्छ र भविष्यमा अरू धेरै समस्या निम्त्याउन सक्छ ।

प्रकाशित मिति : ५ भदौ २०८३ शुक्रबार ००:००  ६ : ५० बजे