वाणगंगा । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि कपिलवस्तुको बाल मा.वि. बैरियामा गठित बालक्लबले राहत रकम संकलन गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीबाट रकम संकलन गरी बालक्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विहिबार ११ हजार ३ सय ७५ रुपैयाँ जम्मा गरेको हो।
बाढीबाट सयौं बालबालिका प्रत्यक्ष प्रभावित भएको देखेपछि उनीहरूको संरक्षण र सहयोगका लागि राहत रकम संकलन गरिएको बालक्लबकी अध्यक्ष नाइसा अधिकारीले बताइन्। विपत्तिमा परेका बालबालिकाको पीडा आफ्नै पीडाजस्तै महसुस गर्दै साथीहरूको सल्लाहमा विद्यालयमा सहयोग रकम संकलन गरिएको उनले जानकारी दिइन्।
‘बाढीबाट धेरै बालबालिकाले ज्यान गुमाएका छन्, कतिपय अंगभंग भएका छन् भने धेरै घरबारविहीन भएका छन्। यस्तो अवस्थामा हामीले पनि आफ्नो ठाउँबाट केही सहयोग गर्नुपर्छ भन्ने भावना जाग्यो,’ अध्यक्ष अधिकारीले बताइन् ।
कक्षा १ देखि १० सम्मका विद्यार्थीबाट संकलन गरिएको रकममार्फत बाढी प्रभावित बालबालिकाको पढाइ निरन्तरताका लागि समेत सहयोग पुगोस् भन्ने बालक्लबको उद्देश्य रहेको विद्यार्थीहरूले बताएका छन्। जस्तोसुकै कठिन परिस्थितिमा पनि बालबालिकाको सिकाइ अवरुद्ध हुन नहुने भन्दै उनीहरूलाई पुनः शैक्षिक गतिविधिमा फर्काउन सम्बन्धित निकायसँग विद्यार्थीहरूले आग्रह गरेका छन्।
बालक्लबकी कोषाध्यक्ष खुशी घिमिरेले विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट बचाएको ५।१० रुपैयाँसमेत जम्मा गरेर राहत रकम संकलन गरेको बताइन्। सानो रकम भए पनि विपत्तिको समयमा एकजुट भएर मानवीय सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिन बालक्लब सक्रिय भएको उनको भनाइ छ।
विद्यालयका प्रधानाध्यापक टीकाराम पौडेलले बालक्लबले दुःखको समयमा अरूलाई सहयोग गर्ने भावना देखाउँदै सराहनीय काम गरेको बताए। विद्यार्थीहरूले देखाएको मानवीय भावना र सहयोगको संस्कारले समाजमा सकारात्मक सन्देश दिएको उनले बताए।










प्रतिक्रिया