सोलुखुम्बुः सोलुखुम्बुमा पहिरो खसेर कृत्रिम पोखरी बनेको छ। आज बिहान ७ बजेतिर महाकुलुङ गाउँपालिकाको वडा नम्बर २ र ४ को बीचमा पर्ने हुंगा खोलामा पहिरो खसेको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले जानकारी दिए।
बिहान अन्दाजी ७ बजेतिर महाकुलुङ गाउँपालिका– वडा नम्बर २ र ४ को बीचमा गौरीशंकर हाइड्रोपावरको हेड अफिसभन्दा करिब १०० मिटरजति तल पहिरो खसेको उनले बताए।
गौरीशंकर हाइड्रोपावरको हेड अफिसभन्दा करिब १०० मिटर तलबाट पहिरो खसेपछि १०० मिटरभन्दा लामो ‘ताल’ बनेको र तालको गहिराई अन्दाजी ४० देखि ५० मिटर रहेको उनको भनाई छ।
पहिरो एकचोटि खसेको र त्यो रोकिइसकेको जानकारी दिँदै उनले सदरमुकामबाट निकै टाढाको दूरीमा रहेकोले नदीतटीय क्षेत्रलगायत आसपासका स्थानमा सतर्कता अपनाउन भनिएको सुवेदीले जानकारी दिए।
‘नदीतटीय क्षेत्रमा बसोबास गर्ने गाउँबस्ती तथा उक्त खोलामा रहेका सोही गौरीशंकर हाइड्रोपावरको पावरहाउस, दूधकोसी हाइड्रोपावर नेपाल, सहास ऊर्जा लिमिटेडका दुईवटा हाइड्रोपावरलाई जानकारी गराई हाइड्रोमा रहेका कामदार र सवारीहरूलाई सुरक्षित स्थान जान जानकारी दिइसकिएको र अन्य विषयमा समन्वय भइरहेको सुवेदीको भनाई छ।









प्रतिक्रिया