५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

‘कृषिमा करोडौंको लगानी गरेका सापकोटाका दुखै दुःख’



मायादेवी अनलाइन, बाणगंगा ।
कृषिमा करोडौं लगानी लगाउँदै गर्दा कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ८ का मित्रलाल सापकोटाले भोगेका समस्या बेग्रेल्ती छन् । एकातिर व्यवसायमा टिक्नै धौधौ, अर्कोतिर छिमेकीले गर्ने व्यवहार । सापकोटाको व्यवसायिक जीवनमा दिनहुँ बल्झिरहने घाउँहरु हुन् । तरपनि आफ्नो व्यवसायिक लक्ष्यमा अडिग सापकोटा जीवनमा हरेस नखाई व्यवसायमा टिक्दै गए । अहिले सापकोटा यस क्षेत्रको ठूलै व्यवसायिक किसान बनेका छन् ।

तराईको समथर भूभाग, जहाँको जग्गाको मूल्य दैनिक चार गुणाले वृद्धि भइरहेको थियो । हेक्टरौं खेतीयोग्य जमीन मासिदैँ घडेरीमा परिणत भइरहेको थियो । यस्तो बेला तीन विगाह क्षेत्रफलमा कृषि उद्यमी गर्छु भनेर सापकोटाले जोखिम मोलेका थिए ।

पुराना दिन सम्झदैँ सापकोटा भन्छन्, ‘आफ्नै गाउँठाउँमा केही गरौं भनेरै कृषिमा करोड लगानी लगाएको हुँ । तमाम चुनौतीका बीच कृषि उद्यम थाल्नु आफैमा एक किसिमको क्रान्ति हो जस्तो लाग्छ ।’

सापकोटा आफूले लगानी गरेको व्यवसायमा हुने घाटा भन्दा आजभोलि गाउँ समाजका केही व्यक्तिले दिनहुँ दिइरहेको पीडाले विक्षिप्त छन् । एक दशक अगाडी कृषि पेशा थाल्दा वरपर बाक्ला घरहरु थिएनन् । सडक, विद्युत र खानेपानीको असुविधाका बीच सापकोटाले कृषि पेशा अंगालेका थिए । अहिले कृषि फर्म वरपर घरहरु निर्माण हुँदै गए । खेतीयोग्य जमीन घडेरीमा परिणत हुँदै गए । तर सापकोटाको व्यवसायमा लगानी बढाउँदै लगे । अहिले उनले जग्गा बाहेक तीन करोड बढीको लगानी गरेका छन् ।

व्यवसायमा जम्दै जाँदा सापकोटाका विरोधी सल्बलाउन थालेका छन् । कतिपयले उनलाई सामाजिक सञ्जालमा तथानाम लेख्दै चरित्र हत्यामा उत्रिरहेका छन् । फर्म नजिकका कतिपय व्यक्ति उनी विरुद्ध हात धोएरै लागेका छन् । हिजो कृषिमा लगानी बढाउन सुझाव दिनेहरु नै विरोधी बनेका छन् । यस्तो बेला उनलाई साथ दिन स्थानीय प्रशासन समेत लागेको छैन् ।
सामाजिक सञ्जालको उनी विरुद्ध लेखिदै आएको शब्दले उनी विक्षिप्त छन् । घरपरिवार, आफन्त सधैँ चिन्तामा छन् । उनी विरुद्ध झुटो विवरण उल्लेख गर्दै समाजिक सञ्जालमा लेख्नेमाथि कारबाही हुन सकेको छैन् । सामाजिक सञ्जालमा लेख्नेमाथि कारबाही कस्ले गर्ने ? उनी अनविज्ञ छन् ।

आफू विरुद्ध विभिन्न ढंगले हमला भइरहेको उनले सुनाए । कृषिमा करोडको लगानी लगाउदा सरकारी निकायबाट केही अनुदान आएको छ, उनले भने, ‘मैले गल्ती गरेको भए मलाई कारबाही गर्ने निकाय होला । तर सामाजिक सञ्जालमा चरित्र हत्या गर्न त पाइदैँन् होला नि !’ सोमबार केही पत्रकार समक्ष आफ्नोे पीडा उनले सुनाए ।

गतबर्ष उनको फर्म भित्रै गाउँका कतिपय व्यक्तिले अन्धाधुन्ध डोजर चलाएर लाखौंको क्षति पुर्‍याए । रातविरात हिड्न पनि मलाई खतरा छ । कुन बेला के गर्छन् भन्ने दिनहुँ घरपरिवारमा चिन्ता छ, उनले भने ।

हिजो फर्म सञ्चालन गर्दा वरपर त्यति ठूलो वस्ति थिएन । आजभोलि वस्ति बढ्यो । करोड लगानी गरेको ठाउँ त्यसै छाड्न भएन । मुलुकमा केही गर्छु भनेर कृषिमा लगानी लगाएको हुँ । मैले पनि घडेरी बनाएर बेचेको भए करोडौं कमाउने थिए होला । आज मेरा विरुद्ध लाग्नेहरुमाथि कुनै कारबाही भएन । उनले गुनासो गरे ।

तीन करोड बढी फर्ममा लगानी लगाएका सापकोटाले फर्म बेच्ने सोचमा आफू पुगेको बताए । आफ्ना विरुद्ध सिलसिलेबारमा लाग्दा पनि प्रशासनबाट कुनै सहयोग पाएको उनले गुनासो गरे । सामाजिक सञ्जालमा मनपरी लेख्दै गर्दा उनीहरुमाथि कुनै कारबाही भएको छैन् । समाजमा केही गर्छु भन्दा म बदनाम हुने अवस्थामा पुगेको छु । सोमबार साँझ आफ्नै फर्ममा पुगेका सञ्चारकर्मी समक्ष उनी मनिन ढंगले प्रस्तुत भए ।

प्रकाशित मिति : २२ माघ २०८१ मंगलबार ००:००  १ : ३९ बजे