३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

सनशाइन सामाजिक विकास संस्थाको २८औँ वार्षिक साधारणसभा सम्पन्न



मायादेवी अनलाइन, बुद्धभूमि ।
सनशाइन सामाजिक विकास संस्थाको २८औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशन सम्पन्न भएको छ।

बुद्धभूमि नगरपालिका–१० चेतरादेहीस्थित संस्थाको आफ्नै सभाहलमा सम्पन्न साधारणसभामा संस्थाको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेले सनशाइनले जिल्लामा गर्दै आएको सामाजिक कार्य उल्लेखनीय रहेको बताउनुभयो। उहाँले जिल्लामा सबैभन्दा पहिले सामाजिक परीक्षण सुरु गर्ने संस्थाका रूपमा सनशाइन रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नेतृत्व र टिमबीच सहकार्य कायम भए थप उत्कृष्ट काम गर्न सकिने बताउनुभयो।

बुद्धभूमि नगरपालिका–४ का वडा अध्यक्ष सुशिलकुमार चौधरीले विश्वका विभिन्न स्थानमा भइरहेका युद्ध तथा द्वन्द्वका कारण दातृ निकायबाट प्राप्त हुने सहयोगमा कमी आएको बताउनुभयो। यसले गैरसरकारी संस्थामार्फत सञ्चालन हुने कार्यक्रमसमेत प्रभावित भइरहेको उहाँको भनाइ थियो।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष दिपा महतले सामाजिक रूपान्तरणका लागि संस्थाले गर्दै आएका काम प्रशंसनीय रहेको बताउँदै संस्थाले सञ्चालन गरेका कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

संस्थाका पूर्वअध्यक्षहरू परशुराम यादव, तुल्सीराम यादव र रामसेवक यादवले संस्थालाई थप व्यवस्थित र समयअनुकूल रूपान्तरण गर्दै लैजानुपर्ने बताउनुभयो। समाजमा गर्नुपर्ने काम अझै बाँकी रहेकाले सबैको साथ, सहयोग र सहकार्यबाट संस्थालाई थप प्रभावकारी बनाउन सकिने उहाँहरूको भनाइ थियो।

यसैबीच, २८औँ साधारणसभा तथा १०औँ अधिवेशनका अवसरमा संस्थाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पूर्वअध्यक्ष रामसेवक यादवलाई सम्मान गरिएको छ। यादवलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

कार्यक्रममा सहसचिव दिक्षा रैदासले स्वागत मन्तव्य राख्नुभएको थियो। आर्थिक प्रतिवेदन कोषाध्यक्ष भगवानदास यादवले तथा वार्षिक प्रगति प्रतिवेदन सचिव दिलिपकुमार यादवले प्रस्तुत गर्नुभएको थियो।

संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव यादवले गर्नुभएको थियो।

सनशाइन सामाजिक विकास संस्थाले सामुदायिक रेडियो कपिलवस्तु सञ्चालन गर्दै आएको छ। सामुदायिक रेडियो कपिलवस्तु जिल्लाकै पहिलो सामुदायिक रेडियोका रूपमा सञ्चालनमा रहेको संस्थाले जनाएको छ। १०औँ अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।

प्रकाशित मिति : ३० भदौ २०८३ मंगलबार ००:००  ३ : १२ बजे