२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

चल्ला, दानादेखि प्रशोधनसम्मकै स्वस्थकर ‘स्मार्ट फ्रेस हाउस’ चार नम्बरमा खुल्यो


२८ भदौ २०८३ आइतबार ००:००  

0
Shares

बाणगंगा । पशुपन्छी तथा दानाजन्य उत्पादनमा लामो समयदेखि आफ्नो पहिचान बनाउँदै आएको श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै कपिलवस्तुको ४ नम्बरमा आधुनिक ‘स्मार्ट फ्रेस हाउस’ सञ्चालनमा ल्याएको छ।

स्वस्थ, स्वच्छ र स्वादिष्ट मासु उपभोक्तासम्म पुर्‍याउने उद्देश्यसहित श्रीनगरले आफ्नै चल्ला, आफ्नै दाना र आफ्नै प्रशोधनमार्फत उत्पादनलाई उपभोक्तामाझ पुर्‍याउन चारनम्बरमा आधुनिक फ्रेस हाउस सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। उक्त फ्रेस हाउस (बिक्री केन्द्र) को आइतबार एक कार्यक्रमबीच बाणगंगा नगरपालिका पशु शाखाका प्रमुख ध्रुव ज्ञवालीले उद्घाटन गर्नुभएको हो।

फ्रेस हाउस उद्घाटन गर्दै ज्ञवालीले संघीय सरकारले पशु वध तथा मासु बिक्री–वितरणसँग सम्बन्धित मापदण्ड र वधशाला सञ्चालन कार्यविधिलाई कडाइका साथ कार्यान्वयन गर्न थालेको बताउनुभयो। उहाँका अनुसार बाणगंगा नगरपालिकामा पनि आगामी माघ महिनादेखि उक्त व्यवस्था प्रभावकारी रूपमा लागू गर्ने तयारी भइरहेको र सबै फ्रेस हाउस मापदण्ड अनुसार सञ्चालन गर्नुपर्नेछ।

त्यसैगरी, नगरको पशु शाखाका डा. यमलाल पोख्रेलले गुणस्तरीय खाद्यवस्तु वितरण गर्ने व्यवसायी तथा फर्मलाइ सहयोग गर्ने सरकारकाे नीति रहेको बताउनुभयो। उहाँले उपभोक्तालाई स्वस्थकर र स्वच्छ मासु उपलब्ध गराउन फ्रेस हाउस निर्धारित मापदण्डअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। “स्वस्थकर मासु उपभोग गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो, “फ्रेस हाउसलाई मापदण्डमा ल्याउने अभियानको सुरुवात श्रीनगरले गरेको छ।”

बजारमा मासु बिक्री हुने भए पनि त्यसको दाना, उत्पादन, प्रशोधन, सरसफाइ तथा भण्डारणको अवस्थाबारे उपभोक्ता अनभिज्ञ रहने गरेको अवस्थामा आधुनिक फ्रेस हाउसको अवधारणाले उपभोक्ताको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

‘किसानको बालीदेखि उपभोक्ताको थालीसम्म’

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका टेक्निकल हेड डा. गिरीराज खनालले कम्पनीले ‘किसानको बालीदेखि उपभोक्ताको थालीसम्म’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले स्मार्ट फ्रेस हाउस सञ्चालनमा ल्याएको बताउनुभयो।

उहाँका अनुसार कम्पनीले आफ्नै उत्पादनलाई व्यवस्थित रूपमा उपभोक्तासम्म पुर्‍याउने योजनाअन्तर्गत फ्रेस हाउस सञ्चालनमा ल्याएको हो। फ्रेस हाउसमा सरकारी मापदण्डअनुसार स्वस्थकर मासु बिक्रीका लागि आवश्यक व्यवस्थाहरू सुनिश्चित गरिएको उहाँले जानकारी दिनुभयो।

कम्पनीका खाद्य विज्ञका अनुसार आफ्नै फार्मबाट कुखुरा ल्याउने, सर्टिङ गरी बजारीकरण गर्ने र आफ्नै गाडीमार्फत ढुवानी गर्ने गरिएको छ। भेटेरिनरी डाक्टरको परीक्षण तथा निगरानीपछि कुखुरा प्रशोधन प्रक्रियामा जाने व्यवस्था मिलाइएको छ। कम्पनीले खाद्य निरीक्षकद्वारा समेत उत्पादित मासुकाे परिक्षण गराउदै स्वच्छताकाे सुनिश्चित गरेकाे जनाएकाे छ ।

अर्डरअनुसार तयार गरिएको कुखुरालाई चिलर भ्यान (रेफ्रिजेरेटेड भ्यान) मा राखेर विक्रेता तथा होटल–रेस्टुरेन्टसम्म पुर्‍याउने गरिएको कम्पनीले जनाएको छ।

“किसानले उत्पादन गरेको वस्तु गुणस्तरीय रूपमा उपभोक्ताको भान्सासम्म पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य हो,” खनालले भन्नुभयो, “उत्पादनदेखि बिक्रीसम्म स्वच्छता र गुणस्तरलाई प्राथमिकतामा राखेका छौँ।”

फ्रेस हाउसमा उपभोक्ताको रोजाइअनुसार कुखुराका विभिन्न भाग उपलब्ध हुने व्यवस्था मिलाइएको छ। यसले उपभोक्तालाई आफूलाई आवश्यक पर्ने मासुको भाग छनोट गर्न सहज हुने कम्पनीले जनाएको छ।

२४ वर्षअघि सामान्य पोल्ट्री फार्मबाट सुरु भएको यात्रा

श्रीनगरको व्यावसायिक यात्रा २४ वर्षअघि सामान्य पोल्ट्री फार्मबाट सुरु भएको थियो। दुई–चार हजार कुखुरा पालेर सुरु भएको व्यवसाय अहिले पश्चिम नेपालमै पोल्ट्री तथा फिड क्षेत्रमा स्थापित ब्रान्डका रूपमा अघि बढेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार अहिले पाँच हजारभन्दा बढी कृषक, व्यवसायी तथा उद्यमी श्रीनगरसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्। कम्पनीको विस्तारसँगै श्रीनगरको व्यावसायिक यात्रा हजारौँ कृषकको रोजगारी र आम्दानीसँग समेत जोडिएको छ।

फार्म तथा पशुपालन र फिडजन्य उत्पादनमा विश्वासिलो ब्रान्डका रूपमा स्थापित भएपछि कम्पनीले आफ्ना उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्‍याउने योजनालाई अगाडि बढाएको हो।

श्रीनगरले रूपन्देहीको शुद्धोधन नगरपालिका–४ मा पौने दुई बिघा क्षेत्रफलमा दाना उद्योग सञ्चालन गरिरहेको छ। त्यही क्षेत्रमा पौने तीन बिघामा ह्याचरी तथा फार्म र अर्को पौने चार बिघा क्षेत्रफलमा व्यावसायिक फार्म सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, पाल्पाको तेल्घामा २३ रोपनी क्षेत्रफलमा ब्रिडर फार्म सञ्चालनमा रहेको छ। बुटवलमा मासु प्रशोधन उद्योगसहित खाद्य क्षेत्रमा समेत नयाँ योजनाका साथ कम्पनी अगाडि बढिरहेको बताइएको छ।

पश्चिम नेपालमा पोल्ट्री क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल श्रीनगरले अब उत्पादनमा मात्र सीमित नभई उपभोक्तासम्म प्रत्यक्ष पहुँच विस्तार गर्न थालेको कम्पनीका जनरल म्यानेजर एस. एस. नायडुले मायादेवी अनलाइनलाई बताउनुभएको छ।

प्रकाशित मिति : २८ भदौ २०८३ आइतबार ००:००  ३ : ३८ बजे