७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बुद्धभूमि नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न



कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आर्थिक वर्ष २०८२र०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

बिहिबार बुद्धभूमि नगरपालिका कार्यालयको बहुउद्देश्यीय सभाहलमा आयोजित उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको समन्वय तथा नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता तथा नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर उपप्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेय, विभिन्न वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरू जवाफदेही वक्ताको रूपमा सहभागी भएका थिए। कार्यक्रममा सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा विद्यार्थीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले बुद्धभूमि नगरपालिकामा गौशाला निर्माणको माग गर्दै छाडा पशुचौपायका कारण कृषकहरू मारमा परेको गुनासो गरेका थिए। यसका साथै सिँचाइको अभाव, गुणस्तरीय शिक्षाको आवश्यकता, विकास निर्माणमा गुणस्तर कायम गर्नुपर्ने, हाटबजार तथा फोहोर व्यवस्थापन, मलखाद अभाव र घर नक्सासम्बन्धी समस्याहरू पनि उठाइएको थियो।

यस्तै, नगरपालिकाबाट हुने वितरणमुखी कार्यक्रमहरूमा लक्षित वर्गभन्दा अन्य व्यक्तिहरूले लाभ लिइरहेको भन्दै सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका थिए। उठाइएका प्रश्न तथा गुनासाहरूको जवाफ नगर प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीहरूले दिएका थिए।

कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले नगरको समग्र विकास कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भन्दै सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

सार्वजनिक सुनुवाइ कार्यक्रममा महासंघका उपाध्यक्ष दिपा महतले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने नागरिक प्रतिवेदन सहसचिव कृष्णप्रसाद पौडेलले प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन महासंघका सचिव शनिउल्ला धोबीले गरेका थिए।

प्रकाशित मिति : ७ चैत्र २०८२ शनिबार ००:००  ९ : ५८ बजे