९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

नवजागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन, अध्यक्षमा अधिकारी



कपिलवस्तु । वाणगंगा नगरपालिका–२, गोबडीहवा स्थित नवजागृति सामुदायिक वन उपभोक्ता समूहमा नयाँ नेतृत्व चयन गरिएको छ। सोमबार सम्पन्न विशेष साधारण सभाले पदमलाल अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

समूहमा आन्तरिक विवादका कारण अघिल्लो कार्यसमिति विघटन भएपछि नयाँ नेतृत्व चयन गरिएको हो। हेमनाथ पाैडेलको अध्यक्षतामा गठित कार्यसमितिको दुई वर्ष कार्यकाल बाँकी रहँदै सम्पूर्ण पदाधिकारीले सामूहिक राजीनामा दिएका थिए। त्यसपछि उपभोक्ताहरुको भेलाले विशेष साधारण सभा आह्वान गरिएको थियो।

दुई दिनसम्म सञ्चालन भएको सभाले उपाध्यक्षमा बेलमाया पुन, सचिवमा नरमाया पुन, कोषाध्यक्षमा लिल बहादुर राना र सह–सचिवमा शिव पाण्डेलाई चयन गरेको छ। त्यसैगरी सदस्यहरूमा सीता थापा, रूमाकान्त पौडेल, कृष्ण बहादुर थापा, जमुना राना, विनु शर्मा र उमा पुन चयन भएका छन्।

यसैगरी सभाले ३ सदस्यीय लेखा समिति पनि गठन गरेको छ। लेखा समितिको संयोजकमा विष्णु प्रसाद ज्ञवाली तथा सदस्यहरूमा लिला घिमिरे र दुर्गा बहादुर तरामु चयन भएको निर्वाचन मण्डलले जानकारी दिएको छ।

आन्तरिक विवादका कारण गत वर्षदेखि वनका गतिविधि प्रभावित भएका थिए। काठ–दाउरा छपान, कटान तथा मुछानलगायतका नियमित कामहरू ठप्प हुँदा उपभोक्ताहरू प्रत्यक्ष प्रभावित भएका थिए।

नयाँ कार्यसमितिले वन व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउँदै रोकिएका सम्पूर्ण गतिविधि पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। सभामा काठ–दाउरा छपान, कटान र मुछानका आवश्यक प्रक्रिया अगाडि बढाउने तथा स्वीकृत वन विधानलाई समयानुकूल परिमार्जन गर्ने विषयमा समेत छलफल भएको थियो।

प्रकाशित मिति : ९ चैत्र २०८२ सोमबार ००:००  ८ : ०७ बजे