बाबुराम रायमाझी, भलवाड।
वाणगंगा नगरपालिका वडा नं. ९ स्थित कपिलधाममा रहेको गुरुकुलम सञ्चालनार्थ आयोजित ७ दिवसीय श्री ब्रह्म पुराण धनधान्याञ्चल ज्ञान महायज्ञ को आय–व्यय सार्वजनिक गरिएको छ। माघ २६ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन भएको महायज्ञको आय–व्यय विवरण कपिलधामको सभा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा कपिलधामका कोषाध्यक्ष राजु अर्यालले कुल १३ लाख ६१ हजार ४ सय ३४ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार महायज्ञ सञ्चालनमा ८ लाख ९४ हजार २ सय ३ रुपैयाँ खर्च भएको जानकारी गराइएको थियो ।आय–व्यय सार्वजनिक कार्यक्रमकै अवसरमा महायज्ञ सफल बनाउन योगदान पुर्याउने सहयोगदातालाई सम्मान समेत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेलले २०७८ सालमा स्थापना भएको कपिलमुनी वैदिक संस्कृत विद्यापीठ गुरुकुलमले यस क्षेत्रको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले गुरुकुलमको प्रवर्द्धन तथा विकासका लागि आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
त्यस्तै, गुरुकुलम व्यवस्थापन समितिका अध्यक्ष थानेस्वर बेल्बासे, कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य तथा पण्डित ऋषिकेश पोख्रेलले पनि महायज्ञको महत्व र गुरुकुलमको आवश्यकता सम्बन्धी आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

महायज्ञ मूल आयोजक समितिका संयोजक भिम प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको स्वागत मन्तव्य उप–संयोजक लक्ष्मी पोख्रेलले राख्नुभएको थियो भने सञ्चालन धामका सचिव दुर्गा प्रसाद पौडेलले गर्नुभएको थियो।
स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोगमा सम्पन्न महायज्ञले गुरुकुलम सञ्चालनमा टेवा पुग्नुका साथै धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धिमा समेत योगदान पुर्याएको आयोजकले जनाएको छ।







प्रतिक्रिया