२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

महाराजगञ्ज नगरपालिकामा ‘स्थानीय युवा परिषद्’ गठन



​कपिलवस्तु ।
कपिलवस्तु महाराजगञ्ज नगरपालिकामा स्थानीय युवाहरूको सहभागिता र नेतृत्व विकास गर्ने उद्देश्यका साथ स्थानीय युवा परिषद् गठन गरिएको छ।
कोएका र यूएनएफपिए को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनलको प्राविधिक सहयोगमा मानव अधिकार सचेतना केन्द्र हुरेक नेपालद्वारा सञ्चालित “युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण” सेफ गल्स परियोजना अन्तर्गत आयोजित एक कार्यक्रमका बीच उक्त परिषद् गठन गरिएको हो।

​भेलाले महाराजगन्ज नगरपालिका का मेयर अब्दुल कलामको अध्यक्षता (संयोजकत्व) मा १६ सदस्यीय स्थानीय युवा परिषद् सर्वसम्मत चयन गरेको छ। समितिको सदस्य सचिवमा जगत बहादुर गाहा रहनुभएको छ।
प्रदिप गिरी, माया कोरी, दिपक द्विवेदी, प्रचण्ड मिश्र, अयान शेख, ओम प्रकाश कुर्मी, संगिता कुर्मी, राधेश्याम कुर्मी, प्रेम बहादुर कुर्मी, सनोज कुमार मुराउ, पूजा कुमारी रैदास, गणेश शर्मा र नितु कुर्मी सदस्यका रूपमा चयन हुनुभएको छ।

​बैठकले युवा परिषद् गठन गर्नुका साथै समितिको वैधानिकताका सम्बन्धमा समेत महत्वपूर्ण निर्णय गरेको छ। आगामी नगर कार्यपालिका वा नगर सभाको बैठकबाट आवश्यक प्रक्रिया पुरा गरी यो समितिलाई कानुनी वैधानिकता दिलाउने निर्णय सर्वसम्मतिले पारित गरिएको छ।
​कार्यक्रममा महाराजगञ्ज नगरपालिकाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। परिषद् गठनसँगै अब स्थानीय स्तरमा युवाका मुद्दाहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउन र नगरको विकास प्रक्रियामा युवाको सक्रिय सहभागीता गराउन सहज हुने विश्वास लिइएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८२ शुक्रबार ००:००  ९ : ०५ बजे