कपिलवस्तु ।
लोक तथा दोहोरी गायिका वर्षा लम्सालकोनयाँ गीत ‘रंगाएसि सिउँदो’ बजारमा आएको छ । भर्खरै वैवाहिक जीवनमा बाँधिएकी गायिका लम्सालको वैवाहिक जीवनसँग जोडिएको उक्त गीतमा लोक तथा दोहोरी गायक अर्जुन सापकोटा र सुनिता बुढामगरको स्वर रहेको छ ।
गीतमा कपिल पन्थी र रोशन रेग्मीको शब्द रहेको छ भने युनिस अधिकारीले संगीत भरेका छन् । युनिस अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा गायिका लम्सालको विवाहको भिडियो छायांकन गरिएको छ ।
गीतलाई दर्शक तथा शुभचिन्तकले माया गरिदिनेमा आफू ढुक्क रहेको गायिका लम्सालले बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो ११–१२ वर्ष लामो सांगीतिक यात्राको अनुभव भावुक शैलीमा साझा गरेकी छन् ।
उनले लेखेकी छन्, आफूले जीवनमा धनभन्दा धेरै ठूलो कुरा मनदेखि माया गर्ने मानिसहरू कमाएको महसुस भएको छ । सानो सपना र रहरबाट सुरु भएको संगीत यात्रामा धेरै संघर्ष, पीडा र एक्लोपन भए पनि कहिल्यै हार नमानेको उनले उल्लेख गरेकी छन् ।
लम्सालले संगीत आफ्नो रहर मात्र नभई भावना र संसार भएको बताउँदै दर्शक, शुभचिन्तक र आफन्तको साथ, माया र विश्वास नै आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बताएकी छन् ।
गायिका लम्साल कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा जन्मिएकी हुन् । उनले कास्कीका मिलन रेग्मीसंग यही वैशाख ३० गते विवाह गरेकी हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् ।






प्रतिक्रिया