कपिलवस्तु ।
कपिलवस्तुकाे बाणगंगा १० पटनामा राजनीतिक तथा सामाजिक समावेशीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले विशेषगरी महिला, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको अधिकार, सहभागिता र नेतृत्व विकासमा जाेड दिइएकाे थियाे ।
कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष प्रसाद पाेख्रेलले “सम सम परियोजना” ले समुदायस्तरमा महिला अधिकार, सामाजिक न्याय तथा समावेशी सहभागिताका विषयमा महत्वपूर्ण काम गरिरहेको उल्लेख गर्दै पछाडि पारिएका महिला वर्गकाे आफ्ना अधिकारका लागि निर्भीक रूपमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो। उहाँले समुदायमा सञ्चालन हुने हरेक विकास तथा सामाजिक कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै स्थानीय तहको समावेशी विकासमा सबैको भूमिका अपरिहार्य रहेको बताउनुभयो।
त्यसैगरी, वडा महिला सदस्यले महिलाहरू आफ्ना अधिकारका लागि स्वयं अग्रसर हुनुपर्ने आवश्यकता औंल्याउँदै आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताले मात्रै वास्तविक समावेशीकरण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा नागरिक समाजका अगुवा, महिला समूह, अपाङ्गता भएका व्यक्तिहरू, स्थानीय सरोकारवाला तथा समुदायका विभिन्न वर्गको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले समुदायमा विभिन्न कार्यक्रम आए पनि लक्षित वर्गलाई प्रत्यक्ष समेटेर “सम सम परियोजना” सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले सचेतना अभिवृद्धि मात्र नभई व्यवहारिक परिवर्तनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको सहजीकरण गर्दै परियोजनाकी गीता अर्यालले समावेशी समाज निर्माणका लागि समुदायस्तरमै अधिकारमुखी संवाद, क्षमता विकास तथा सहभागितामूलक अभ्यास आवश्यक रहेको बताउनुभयो।
यसैगरी, प्रदेश संयोजक कमला शुक्लाले कार्यक्रममा सहभागीहरूले सिकेका ज्ञान, अनुभव र सीपलाई व्यवहारमा कार्यान्वयन गर्न सके मात्र कार्यक्रमको वास्तविक उद्देश्य पूरा हुने बताउनुभयो। उहाँले अर्थपूर्ण सहभागिता, सामुदायिक नेतृत्व र स्थानीय तहसँगको सहकार्यलाई दिगो सामाजिक रूपान्तरणको आधारका रूपमा व्याख्या गर्नुभयो।
स्थानीय तहमा महिला अधिकार, सामाजिक समावेशीकरण तथा समुदायको अर्थपूर्ण सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा विभिन्न समूह संरचनाबाट ४५ जनाकाे सहभागीता रहेकाे थियाे ।







प्रतिक्रिया