७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

२० जनाको परिक्षण गर्दा स्याङ्जामा ६ जनामा भेटियो स्वाइन फ्लु



स्याङ्जा, साउन १८  । 

स्याङ्जाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको रगत परिक्षण गर्दा ६ जनामा स्वाइन फ्लु भेटिएको छ । गएको शनिबार केन्द्रमा स्वास्थ्य परिक्षणका लागि आएका २० जना शंकास्पद बिरामीको रगतको नमुना लिइएको थियो ।

उनीहरुको काठमाडौंमा परिक्षण गर्दा पाँच जनार्मा नफ्लुएन्जा ‘ए’ एचवनएनवन र एक जनामा इनफ्लुएन्जा ‘बी’ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य अधिकृत यमप्रसाद शर्माले जानकारी दिनुभयो । यसअघि एक जना वालिङका बिरामीको काठमाडौंमा उपचारका क्रममा स्वाइन फ्लुका कारण निधन भइसकेको छ ।

परिक्षणको रिपोर्ट सार्वजनिक भए लगत्तै थप स्वास्थ्यकर्मीको टोली केही हप्ता वालिङ बस्ने गरी आउने तयारीमा रहेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष एवं वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणले जानकारी दिनुभयो ।

पछिल्ला केही दिनमा वालिङमा अवस्था सामान्य बन्दै गएको थियो । रुघाखोकी तथा ज्वरोका विरामी केही घटेका थिए । तर रिपोर्टमा स्वाईन फ्लु पोजेटिभ आएपछि वालिङमा त्रास बढेको छ । वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको आकस्मिक वैठक बसेर आफूहरुलाई सुरक्षित पारिदिन भ्याक्सिन लगायतका सामाग्री तथा औषधी उपलव्ध गराईदिन स्वास्थ्य विभागलाई आग्रह गरेको केन्द्रका सूचना अधिकारी सिनियर अहेव-अधिकृत देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्रले रिपोर्टमा स्वाईन फ्लु पोजेटिभ देखिएका बिरामीलाई सम्पर्क गरी थप उपचारको व्यवस्था मिलाएको जनाएको छ उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो । अर्काे तर्फ वालिङमा स्वाईन फ्लु भएका विरामीलाई दिईने ‘ओसेल्टामाभिर’ नामक औषधीको समेत अभाव हुन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

स्वाईन फ्लु एनवनएचवन विषाणुका कारण हुने वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डाक्टर प्रविण घिमिरेले बताउनु भयो । उहाँले स्वाईन फ्लु लागेमा ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, श्वास फेर्न कठिनाई हुने, घाँटी शरीर तथा टाउको दुख्ने, काप्ने, आलस्य हुने, केहीमा झाडापखाला तथा वान्ता हुने अन्त्यमा रोग कडा हुँदै शरीरको प्रतिरक्षा शक्ति कमजोर भई न्युमोनिया भएर बिरामीको मृत्यु हुने जानकारी दिनुभयो ।

डाक्टर घिमिरेले यो रोग सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने तर मासु पकाएर खाँदा भने यो रोग सुँगुरबाट मानिसमा नसर्नेे जानकारी दिनुभयो । यो रोग मानिसमा लक्षण देखाउनु भन्दा एक दिन अगाडिबाट सात दिनसम्म सार्न सक्ने चिकित्सकको भनाई छ ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  ११ : ०५ बजे