मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत लक्ष्मणघाटको व्यवस्थापन तथा मृत्यु संस्कार कार्यलाई सहज बनाउन दुई चट्टा दाउरा निःशुल्क उपलब्ध गराएको छ।
सामुदायिक वनले उपलब्ध गराएको उक्त दाउरा बाणगंगा नगरपालिका–६ का वडा अध्यक्ष करुण टण्डनलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो। समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत लक्ष्मणघाटमा अन्त्येष्टि गर्न आउने नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले दाउरा उपलब्ध गराएको जनाएको छ।
समूहका अध्यक्ष सुशील सिंह ठकुरीले सामुदायिक वन वन संरक्षणमा मात्र सीमित नरही समुदायको आवश्यकता अनुसार सामाजिक सेवामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको बताए। उनले लक्ष्मणघाटमा अन्त्येष्टि कार्यका लागि आवश्यक दाउराको व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
‘दुःखको घडीमा नागरिकलाई केही सहज होस् भन्ने उद्देश्यले सामुदायिक वनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत दाउरा उपलब्ध गराएको हो। आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनेछौं,’ अध्यक्ष ठकुरीले भने।
दाउरा बुझ्दै वडा अध्यक्ष करुण टण्डनले श्रृङ्गीघाट सामुदायिक वनले गरेको सहयोगको प्रशंसा गर्दै यसले लक्ष्मणघाटमा मृत्यु संस्कारका लागि आउने परिवारलाई प्रत्यक्ष राहत पुग्ने बताए। उनले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक क्षेत्रमा पनि उदाहरणीय भूमिका निर्वाह गरेको उल्लेख गरे।
श्रृङ्गीघाट सामुदायिक वनले पछिल्ला वर्षहरूमा वन संरक्षणसँगै स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास तथा विपद्का समयमा सहयोगलगायत समुदायमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। लक्ष्मणघाट व्यवस्थापनमा गरिएको यो सहयोग पनि त्यसैको निरन्तरता भएको स्थानीयले बताएका छन्।







प्रतिक्रिया