२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

ब्राजिललाई स्तब्ध पार्दै नर्वे विश्वकपको क्वार्टरफाइनलमा



काठमाडौं । 

स्ट्राइकर एर्लिङ हालान्डको उत्कृष्ट दुई गोल र गोलकिपर ओर्जान निल्यान्डको उत्कृष्ट बचाउको मद्दतले नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

न्युयोर्क न्युजर्सी स्टेडियममा भएको रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा नर्वेले पाँच पटकको विजेता ब्राजिललाई २-१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको हो।

नर्वे विश्वकपको अन्तिम आठ (क्वार्टरफाइनल) मा पुगेको यो इतिहासमै पहिलो पटक हो। यस पराजयसँगै ब्राजिल सन् १९९० पछि पहिलो पटक विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको हो। 

खेलको १५औँ मिनेटमा क्रिस्टोफर एजेरले म्याथियस कुन्हालाई लडाएपछि भिएआर (VAR) को सहयोगमा ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। तर, ब्राजिलका ब्रुनो गुइमारेसको प्रहारलाई नर्वेका ३५ वर्षीय अनुभवी गोलकिपर निल्यान्डले उत्कृष्ट बचाउ गरे।

पहिलो र दोस्रो हाफमा ब्राजिलका भिनिसियस जुनियर, ग्याब्रियल मार्टिनेली र वैकल्पिक खेलाडी एन्ड्रिकका अनेकौं प्रहारलाई निल्यान्डले असफल तुल्याएका थिए।

खेलको ७९औँ मिनेटमा वैकल्पिक खेलाडी एन्ड्रियास श्जेल्डेरुपको उत्कृष्ट क्रसमा हालान्डले सशक्त हेडिङमार्फत गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाए।

खेलको ९०औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित सुनिश्चित गरे। उनले डानिलोको खुट्टाको मुनिबाट प्रहार गरेको बलले सिधै नेटको दिशा लिएको थियो। यो गोलसँगै हालान्ड यस विश्वकपमा ७ गोल गर्दै गोल्डेन बुटको दौडमा केलियन एम्बाप्पे र लियोनल मेसीसँगै शीर्ष स्थानमा उक्लिएका छन्।

इन्जुरी समयको १०औँ मिनेट (९०+१०’) मा ब्राजिलका लागि नेयमारले पेनाल्टीमार्फत एक गोल गरे पनि त्यो टोलीलाई जिताउन पर्याप्त भएन।
ऐतिहासिक जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गरेको स्टाले सोल्बाकेनको नर्वेली टोलीले अब जुलाई ११ मा मियामीमा मेक्सिको वा इङ्गल्याण्डमध्ये एकसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २२ असार २०८३ सोमबार ००:००  ५ : ४७ बजे